Logo

राजनीति

अमेरिकी अर्थमन्त्री येलेनलाई सिनेटको अनुमोदन



अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनित जेनेट येलेनलाई अनुमोदन गरेको छ । उनी अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुनेछिन् । 

अर्थमन्त्री येलेनमाथि कोभिड–१९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सदन कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने ठूलो चुनौती छ । 

येलेनले यसअघि अमेरिकी केन्द्रीय बैंकको पनि सन् २०१४ देखि २०१८ सम्म पहिलो महिलाका रुपमा नेतृत्व गरिसकेकी छन् । उनीसँग विगतमा ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषदमा रहेर पनि काम गरेको पनि अनुभव छ । 

राष्ट्रपति जो बाइडेनले कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न भन्दै अघि सार्नु भएको १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेजलाई कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने येलेनसामु पहिलो चुनौती छ । 

सिनेटको वित्त समितिमा भएको सुनुवाईका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताएकी थिईन । 

सोमबार राष्ट्रपति बाइडेनले पनि राहत योजना अघि बढाउँदा अमेरिकी कङ्ग्रेसका दुबै दलबीच सहमति जुटाउन पहल गर्ने बताएका छन् । 

उनले अहिले लगानी नगरे कोभिड–१९ बाट सिर्जित आर्थिक चुनौती अझ व्यापक हुने र पछि त्यसलाई सम्बोधन गर्दा अझ ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ भन्नु भएको छ । उनले भने, “लगानीको उपयुक्त समय नै अहिले हो, त्यसैले लगानी नगरी हामी चुप बस्न मिल्दैन ।”

सिनेटमा सुनुवाईका क्रममा वित्त समितिका अध्यक्ष सिनेटर रोन वाइडेनले अर्थमन्त्रीमा प्रस्तावित येलेन प्रतिभाशाली अर्थशास्त्री रहनु भएको चर्चा गर्दै अहिलेको विषम परिस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न उनी उपयुक्त र योग्य व्यक्ति रहेको बताए । 

अमेरिकामा कोभिड–१९ बाट संक्रमितको संख्या अढाई करोड पुगिसकेको छ भने संक्रमितमध्ये चार लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । रासस 

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  २ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।