नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई नेकपाको नाम उच्चारण नगर्न चेतावनी दिएका छन् ।
ताप्लेजुङमा मंगलबार आयोजित कार्यक्रममा नेपालले केन्द्रीय समितिले ओलीलाई साधारण सदस्यबाटसमेत निष्काशन गरिसकेकाले उनी नेकपामा नरहेको नेपालले बताए । अध्यक्ष बन्न रहर भए नेकपाको नभई ओली गुटको अध्यक्ष भन्न र लेख्न उनको सुझाव थियो ।
‘केन्द्रीय समितिका ४ सय ४१ मध्ये ३ सय जनाले अध्यक्षबाट हटाइसकेकाले ओली अब नेकपामा छैनन’, नेपालले ओलीलाई चेतावनी दिँदै भने, ‘तपाईंलाई नेकपाको नाम लिने अधिकार छैन । अध्यक्ष भन्न रहर भए केपी गुटको अध्यक्ष लेख्नुस्, घरको अध्यक्ष बन्नुस् ।’
निर्वाचन आयोगले नेकपाको साविक केन्द्रीय समितिलाई मान्यता दिएको र उक्त समितिमा ओलीका पक्षमा १ सय जना मात्र रहेकाले उनीविरुद्धको कारबाही स्वतः वैध हुने जिकिर गरे । नेपालले प्रचण्ड र आफूले नेतृत्व गरेको पार्टी नै मुलधार भएको दाबी गर्दै सूर्य चिन्हको पनि आशा त्याग्न ओलीलाई आग्रह गरे ।
‘सूर्य चिन्हको आशा नगरे हुन्छ’, उनले भने, ‘बगलगाडा चुनाव चिन्ह लिएर चुनावमा गए हुन्छ ।’
प्रतिक्रिया