Logo

समाचार

ठेकेदारले काम नगर्दा बेनी-जोमसोम-कोरला सडक अलपत्र



उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ ।

बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमदेखि कोरलाको १ सय १० किलोमिटर सडकमा सातवटा प्याकेज छन् ।

म्याग्दीको गलेश्वर-नारच्याङ पुल, मुस्ताङको कोवाङ-जोमसोम र चराङ-छोसेर खण्डको सडक अलपत्र परेको हो ।

निर्माण व्यवसायीले समयमा काम नगर्दा चीनको सिमाना कोरला नाका जोड्ने सडक अलपत्र परेको छ ।

कूल ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडक कालोपत्रका लागि निर्माण कम्पनीहरुसँग पहिलो चरणमा भएको सम्झौताको म्याद मङ्सिर १५ गते सकिएको छ ।

जोमसोम–कोरला सडकको पनि तेस्रो पटक थपिने म्याद आगामी असारमा सकिँदै छ ।

गलेश्वरदेखि नारच्याङ पुलसम्मको १९ किलोमिटर, कोवाङदेखि जामसोम १९ किलोमिटर र चराङदेखि छोसेर २५ किलोमिटर सडकको काम ठप्प भएको छ ।

गलेश्वर–नारच्याङ पुल खण्डको सडक कालोपत्र गर्न ठेक्का शर्मा–युनाइटेड जेभीले लिएको थियो ।

कोवाङ-जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एन्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो ।

कोशी एन्ड न्यौपाने जेभीले छ महिनादेखि रोकिएको सडकको काम अझै अघि बढाएको छैन ।

मुस्ताङको मार्फादेखि टुकुचेसम्म ग्राभेल पूरा गरेपछि व्यवसायीले काम नगरेकाले सडक अलपत्र परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आसबहादुर थकालीले बताए ।

सडक निर्माणमा भएको ढिलाइले जोमसोम, मार्फा, पुथाङलगायत बजार क्षेत्रमा अन्य विकासका पूर्वाधारको काम गर्न गाउँपालिकालाई अप्ठ्यारो परेको छ ।

कम्पनीले कोवाङदेखि जोमसोम खण्ड करिब ६२ करोड र चराङदेखि छोसेर खण्ड करिब रु २६ करोडमा सम्झौता गरेको थियो ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका अनुसार साबिक कम्पनीले तल्लो खण्डमा ५० र उपल्लो खण्डमा ६२ प्रतिशत काम गरेको छ ।

गलेश्वर-नारच्याङ पुल खण्डको काम पनि करिब ५० प्रतिशत भएको छ ।

जोमसोम-कोरला सडकको छोसेरदेखि कोरला नाकाको २४ नं गेटसम्मको सडक ११ मिटर फराकिलो र ग्राभेल गर्ने काम एक वर्षअघि नै सकिएको थियो । जोमसोमदेखि छुसाङसम्मको सडक स्तरोन्नति पनि अन्तिम चरणमा पुगेको छ ।रासस

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ११:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।