नागरिकतासम्बन्धी कानून बनाउन एक कार्यक्रमका सहभागीहरुले माग गरेका छन् ।
महिला, कानून र विकास मञ्चले आईतबार राजधानीमा गरेको ‘नागरिकताबाट वञ्चित व्यक्ति र सांसदसँगको छलफल’ कार्यक्रमका वक्ताहरुले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनबाट पारित गर्न माग गरेका हुन ।
आमाको वंशजको नागरिकता भए पनि नागरिकतासम्बन्धी आवश्यक कानून अभावमा आमाको पहिचानबाट नागरिकता लिन नपाएको उनिहरुको गुनासो छ ।
प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले नागरिकतासम्बन्धी विधेयकमा भएका असहमतिलाई संसद्को पूर्ण बैठकमा छलफल गरेर भए पनि आगामी अधिवेशनबाट पारित गर्नुपर्ने धारणा राखे ।
सांसद विन्दा पाण्डेले ‘बहसमा वंशीय पहिचान र राज्यविहीनता’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नागरिकताबाट वञ्चित नेपाली नागरिकको विषय महिला वा पुरुषको सवालभन्दा पनि नागरिक राज्यविहीन हुनु हुँदैन भन्ने विषयसँग सम्बन्धित रहेको बताईन् ।
मञ्चका अध्यक्ष मीरा दुङ्गानाले आवश्यक कानूनको अभावमा आमाले आफ्नो नामबाट नागरिकता दिन चुनौती बनेको बताउँदै नागरिकता नभएका व्यक्तिले राज्यका हरेक अधिकारबाट समेत वञ्चित हुनुपरेको उल्लेख गरिन् ।
कार्यक्रममा सुकमाया लामा, शिवराम परियार, अर्जुुन साह, मोहम्मद इस्लाम, सुमन भुसाल, सुरज हजारे लगायतले आफूहरु नेपाली भएर पनि नागरिकताबाट वञ्चित हुनुपरेको पीडा सुनाएका थिए । रासस




















प्रतिक्रिया