काठमाडाैँ । संघीय संसदकाे प्रतिनिधिसभा विघटन भएपश्चात अनाैपचारिक रूपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का शीर्ष नेताहरू एक अर्काप्रति आरोप प्रत्यारोप लाइरहेका छन्।
साेही क्रममा ओली समुहले विप्लवलाई मुलधारमा ल्याउन वार्ताकाे तयारी गरिरहेकाे छ। खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेका छन् । मन्त्री थापा मंगलबार विहान नख्खु पुगेका थिए ।
काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् । संसद विघटन्पछि प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादीको समर्थन जुटाउने कोषिश गरेका छन् । यही प्रयासमा पूर्वमाओवादी पृष्ठभूमिका नेता थापाले सुदर्शन भेटेका हुन् ।
कारागार स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । त्यसक्रममा उनले कारागारको निरीक्षण गरे । र, विप्लव नेता वलीसँग संवाद गरे ।
संसद विघटनको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । त्यसैको निरन्तरता स्वरुप ओलीले भूमिगत विप्लव समूहलाई मुलधारमा ल्याउन संवादको प्रयास जारी राखेका छन् ।
विप्लव समूहमाथि सरकारले २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त समूहले राखेको छ । त्यसपछि हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सन्देश पठाएका छन् ।
प्रतिक्रिया