गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।
पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताए ।
विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उनले अब व्यवहारमा समृद्धि ल्याउने बेला आएको बताएका छन् । देशको स्वाधीनता बचाउन र राष्ट्रियताको रक्षा गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्थायित्वका लागि सबैको एकता आवश्यक भएको उल्लेख गरे ।
इतिहासलाई जीवित राख्न फोटोग्राफीको ठूलो महत्व रहेको र त्यसमा फोटोग्राफरले महत्वपूर्ण टेवा पुर्याउँदै आएको बताउँदै प्रदेश प्रमुख शेरचनले फोटोग्राफीले इतिहासलाई सम्झाउन मद्दत पुर्याउने उल्लेख गरे ।
कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य, कैलाश फोटोग्राफर अफ द इयर अवार्डबाट जय गुरुङ, पोखरा फोटोग्राफी अवार्डबाट काजल श्रेष्ठ, सन्देश उदास, बिलक सुवेदी, मञ्जुल शाक्य, सुके घले, महेन्द्रराज बराललाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सङ्घद्वारा प्रकाशित ‘फोकस’ बुलेटिनको प्रदेश प्रमुख शेरचनले विमोचनसमेत गरेका थिए ।
प्रतिक्रिया