सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड घुस डिल गरिरहेको अडियो सार्वजनिक भए लगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच बाँस्कोटाको बिषयलाई लिएर मत बाझिएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्ड सञ्चारमन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउनु पर्ने अन्यथा प्रधानमन्त्रीले नै बर्खास्त गर्नुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री ओली भने बाँस्कोटा सँग बुझेर मात्रै कुनै निर्णयमा पुग्नुपर्ने अडानमा रहेको नेकपा निकट उच्च स्रोतले जानकारी दियो ।
आज (बिहिवार) बिहान १०:३० देखि मध्याह्न १२ बजेसम्म भएको छलफलमा दुबै अध्यक्ष आ-आफ्नै अडानमा रहेको समेत स्रोतले दावी गरेको छ । छलफलमा कार्यकारी अध्यक्ष प्रचण्डले बाँस्कोटाको कामले सरकार र पार्टी दुबैको छबिमा नकारात्मक असर परेको भन्दै तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओली भने कञ्चनपुरबाट सञ्चारमन्त्री बाँस्कोटा फर्किएलगत्तै छलफल गरेर मात्रै कुनै निष्कर्षमा पुग्ने योजनामा रहेको हुनाले बालुवाटार छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन ।
उता कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्कोटाले भने आफू काठमाडौ फर्के लगत्तै विस्तृत प्रतिक्रिया दिने भन्दै आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन् । अहिले चलिरहेको हल्ला प्रती संकेत गर्दै सञ्चारमन्त्री बाँस्कोटाले राजनीति रङ दिएर अफवाह फैलाउनुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।
















प्रतिक्रिया