Logo

प्रमुख समाचार

प्रचण्ड र वामदेवको नेता नेपाललाई आग्रह ‘ओली विरुद्धको मोर्चाबन्दीमा साथ दिनुस्’



दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुने चर्चा चलिरहँदा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका गुटहरूको पनि सक्रियता बढ्न थालेको छ ।

सत्तारूढ नेकपाका तिनजना मुख्य नेताहरू कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाल बिच गोप्य भेटघाट भएको हो । भेटमा कार्यकारी अध्यक्ष प्रचण्ड उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपाललाई ओली विरुद्धको मोर्चाबन्दीमा साथ दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

पार्टीको सचिवालयले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यको लागि सरकारले सिफारिस गर्ने निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेको भन्दै अब वारपारको स्थिति आएको र त्यसको लागि वरिष्ठ नेता नेपालको साथ चाहिएको भन्दै ओली विरुद्धको मोर्चाबन्दीमा एकजुट हुन नेताद्वयले नेता नेपाललाई आग्रह गरिएको बुझिएको छ ।

नेकपाका नेता सोमप्रसाद पाण्डेको निवासमा भएको भेटघाटमा प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएपछि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा सिफारिस नगरे कडा कदम चाल्ने तयारीमा रहेको जानकारी वरिष्ठ नेता नेपाललाई प्रचण्ड र गौतमले जानकारी दिएका थिए । ‘त्यसमा साथ दिने हो या होइन स्पष्ट भन्नुस्’ गौतमले वरिष्ठ नेता नेपाललाई भनेको शब्द उदृत गर्दै स्रोतले भन्यो । सचिवालयको निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्न सक्छन् ।

उता स्वास्थलाभ गरिरहेका प्रधानमन्त्री ओली भने कुनै मुल्यमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत नगर्ने अडानमा कायमै रहेको जनाइन्छ यो सँगै प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै सत्तारूढ नेकपाभित्रको विवाद अझै बढ्ने देखिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार ०९:०८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।