Logo

प्रमुख समाचार

नेकपामा माधव नेपाल शक्तिशाली, के पाक्दैछ खिचडी ?



 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको भुमरीमा फसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुअघि नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम सम्मीलित बैठक बस्यो ३० फागुनमा, उक्त बैठकमा प्रधानमन्त्री पार्टीको निर्णय अनुसार चल्नुपर्नेमा तिनै नेता एकमत भएको खुमलटार बैठकले निष्कर्ष निकालेको बताइन्छ ।

अर्थात् बैठकमा सहभागी तीन नेताका अनुसार अब बस्ने मन्त्रीपरिषद बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने छ । पार्टी सचिवालयले गरेको निर्णय जुनसुकै मुल्यमा पनि कार्यान्वयन हुनुपर्ने निष्कर्ष निकालेको छ । यसले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दबाब सृजना गर्ने तिनै नेताको अपेक्षा छ । भलै यसमा ओलीले के गर्छन् अहिले त्यो प्रष्ट छैन् । अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिएर प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई एक हदसम्म चुनौती दिइसकेका छन् ।

ओलीको अस्पताल बसाईंले नेकपाभित्र पेचिलो बन्दै गरेको वामदेवको राष्ट्रियसभा सदस्यको मनोनयनको विषय ओझेलमा परेको थियो । अब ओली मृगौला प्रत्यारोपण गरी बालुवाटार फर्किइसकेकाले पार्टी र सरकारको कामकारबाहीले गति पाउनुपर्नेमा नेताहरुको जोड थियो । यसका लागि आवश्यक कदम चाल्नेबारे समेत नेताहरुले छलफल गरेका थिए ।

ओली बालुवाटार पुग्नु अघि नेकपाका तीन प्रभावशाली नेताहरुको बैठक अर्थपूर्ण रह्यो । विश्वस्त स्रोतका अनुसार गौतमले पार्टीको सांगठनिक गतिविधिले गति पाउनुपर्नेमा जोड दिएका थिए । यसमा नेपाल पनि सहमत भएका थिए । अब सचिवालय बैठक डाकेर आवश्यक कदम चाल्नुपर्नेमा तीनैजना सहमत भएका थिए ।

गौतमले सचिवालयको निर्णय टुंगोमा पुग्नुपर्ने बताएका थिए । ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न नचाहिंरहँदा गौतमले पार्टी सचिवालयको निर्णय नमाने कडा कदम चाल्ने तयारी गरिसकेका छन् । उनले त्यस्तो अवस्थामा सचिवालय हुँदै ओलीविरुद्ध संसदीय दलमै हटाउने गरी अस्त्र तयार गरिसकेका छन् । यसबारे निकटस्थसँग पनि छलफल गरिसकेका छन् ।

गौतमको असन्तुष्टिलाई लिएर नेकपाभित्र तिव्र भेटघाट चल्दै आएको छ । महासचिव विष्णु पौडेल, ओलीका विश्वासपात्र मानिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतले सहमतिको बिन्दु तयार गर्न व्यक्तिगत रुपमा गौतमलाई भेटेर छलफल गरिसकेका छन् ।

यसैगरी, पार्टी निर्णय मान्न वाध्य पार्न दबाब दिन नेकपाका ओलीइतरका नेताहरुको बैठक पटक पटक बस्दै आएको छ । यसै हप्ता झलनाथ खनालको निवासमा नेकपाका प्रभावशाली नेताहरुको बैठक बसेको थियो ।

नेकपाभित्र गुटहरुको भिन्न भिन्न बैठक चलिरहेको छ । ओली पक्षले पनि कहिले माधवकुमार नेपाललाई त कहिले झलनाथ खनाल र वामदेव गौतमलाई भेटेर सहमति खोज्ने प्रयास गर्दै आएका छन् । ओली पक्ष माधव नेपाललाई मनाउन लागिपर्दा इतर पक्ष पनि उनलाई नजिक बनाउन सक्रिय छ । घटनाक्रमले माधव नेपाललाई शक्तिशाली बनाउने माहोल तयार गरेको छ । ओलीको बर्हिगमनको सम्भावना बढेमा माधवकुमार नेपाललाई तयार गर्ने गरी एउटा पक्षले सक्रियता देखाइरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार १५:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।