Logo

राजनीति

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुस्ः प्रधानमन्त्री ओली



काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग गएर आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन्।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले उनलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे अवगत गराएका थिए । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो ।
 
आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा  आयोगले गरिरहेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन गर्नुभएको उनले बताए ।
 
निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाएका थिए।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको जानकारी गराएका थिए ।
  
प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गरेका थिए । प्रधानमन्त्री ओलीले मूूलतः निर्वाचनको तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका निम्ति जानुभएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले स्पष्ट पारे।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ३ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।