Logo

अन्तर्वार्ता

देशभक्त राष्ट्रबादीहरु गोलबद्ध हुने समय आयो



संसदबादी दलहरुले मुलुकलाई विकास होइन, विनाशतर्फ लगेको निष्कर्षसहित संघीय जनगणतन्त्र स्थापना गर्न चार कम्युनिष्ट पार्टीबीच राजनीतिक संयुक्त मोर्चा बनेको छ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा र आहुती नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीबीच यही माघ २७ गते काठमाडौंमा यो मोर्चाको घोषणा हुँदैछ । 

नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले अनलाइन पाना टीभीसंग विशेष कुरा गर्दै अहिलेको शासन पद्धति गणतन्त्र नभई नेताहरुको लुटतन्त्र भएकाले यसलाई ढाल्न जरुरी रहेको बताए । उनले सम्पूर्ण देशभक्त राष्ट्रवादी शक्तिहरु एकजुट भइ संसद्वादी दलहरु र यिनका षडयन्त्रविरुद्ध लाग्नुपर्ने उपयुक्त समय आएकाले सबैलाई एकजुट हुन आह्वान पनि गरे । 

कँडेल भन्छन्, ‘हामी चार पार्टी मात्र होइन, कुनैपनि देशभक्त शक्तिसंग एकता र सहकार्य गर्न तयार छौं । देश जोगाउन, असमान सन्धीहरु खारेज गर्न, मुलुकको सार्वभौमिकता र अखण्डताको रक्षा गर्न, विस्तारवाद र साम्राज्यवादीहरुको हस्तक्षेप रोक्न अब कडा कदम नचाली भएन ।’

प्रवक्ता कँडेलका अनुसार यो मोर्चाले अब प्रतिवाद गर्नेछ । राज्य सत्ताका गलत कदमविरुद्ध उभिँदा आफूमाथि थिचोमिचो भए मोर्चा प्रतिवादमा उत्रिनेछ । 

हाल निर्वाचन कि संसद् पुनस्र्थापना भन्ने बहस अब काम नलाग्ने कँडेल बताउँछन् । जे भएपनि मुुलुक अस्थिरतामा जाने भएकाले अब बैकल्पिक शक्तिले नआँटे मुलुकको अस्तित्व संकटमा पर्नेछ । 

अहिलेको गणतन्त्र नेपाली जनताले नल्याएको स्पष्ट पार्दै कँडेलले अधिकांश नेताहरु विदेशीका एजेन्ट रहेको आरोप लगाए । उनी भन्छन्, ‘राष्ट्रघाती एमसीसी पास गर्नुपर्छ भनेर लाग्ने पनि नेपाली हुन्छ ?’

हिजो जनयुद्धको समयमा आफूहरुसंगै रहेका हालका गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट तथा मणि थापा ओली समर्थक हुनु कुनै नौलो नभएको कँडेल बताउँछन् । ओली र पुष्पकमल दाहालमा सैद्धान्तिक तथा बैचारिक हिसाबले कुनै भिन्नता नभएकाले उनीहरु जो जहाँ बसेपनि त्यसले तात्विक भिन्नता ल्याउँदैन । 

उनीहरु कति अत्तालिएका छन् भन्ने कुरा गृहमन्त्री थापाको अभिव्यक्तिबाट पुष्टि हुन्छ । सरकारको गृहमन्त्री भएर तेस्रो जनाआन्दोलन सुरु भयो भन्ने अभिव्यक्ति स्वस्थ मानिसले भन्न नसक्ने भन्दै कँडेल भन्छन्, ‘यी थापा कुनै प्रतिभावान, क्षमतावान, दक्षता भएका मानिस होइनन् । अलिकति हेण्ड्सम र बोल्न जान्ने व्यक्ति भएकाले जनयुद्धमा अवसर पाएका हुन् । यी कति नाङ्गा छन् भन्ने कुरा त अब बिस्तारै जनताले थाहा पाउँदैछन् ।’

नेता कँडेलले सरकारका अर्का मन्त्री मणि थापाले ओली र बिप्लवको राष्ट्रवादमा समानता छ भनेर ओलीको स्तुती मात्र गरेको टिप्पणी गरे । आफनो जागिर जोगाउन जे पनि बोल्ने मन्त्रीहरुले ओलीलाई मात्र होइन देश पनि डुबाउने छन् । 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १८:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।