Logo

राजनीति

अदालतको निर्णय सबैले स्वीकार्नुपर्छ  : अध्यक्ष तिमिल्सिना



राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको सम्वन्धमा सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताएका छन् । पर्वतको महाशीला गाउँपालिकामा आज आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्गअन्तर्गत मिलनचोक–भोक्सिङ–पैंयुँभञ्ज्याङ–सुभद्रखर्क खण्डको शिलान्यास तथा महेन्द्र ज्योति माविमा नवनिर्मित चार कोठे भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संसद् विघटनबारे सर्वोच्च अदालतमा बहस भइरहेको र जे फैसला गर्छ सोहीअनुसार अघि बढ्नुपर्ने बताए।

सर्वोच्च अदालतको अन्तिम फैसला सबैले मान्नुपर्ने उनको भनाइ छ । “अदालतले संसद् विघटन ठीक छ भन्यो भने चुनावमा जानुप¥यो, ठीक छैन भन्यो भने संसद् पुनःस्थापना पनि हुन्छ”, उनले भने । उनले संविधानले सबै अधिकार नागरिकलाई दिएको बताउँदै संविधानको रक्षा र संविधानले दिएका अधिकारको उपभोगका लागि पनि चुनाव हुनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले मुलुक यतिबेला विकास निर्माणको तीव्र गतिमा अघि बढेको बताउँदै निर्वाचन होला नहोला भन्नेतर्फ चिन्ता नलिइकन विकास निर्माणका कामलाई गति दिन पनि आग्रह गरे । 

यस वर्षदेखि प्रत्येक खरका छाना भएका घरपरिवारलाई रु ५० हजारका दरले वितरण गरेर जस्ताका छाना छाउने अभियान थालिएको बताउँदै दुई वर्षभित्र जिल्लानै खरका छानामुक्त हुने विश्वास दिलाए । उनले विकास निर्माणका काम गाउँ केन्द्रित हुने तर नागरिक शहर केन्द्रित भइरहेको बताउँदै गाउँमै बसेर उद्यमशील बन्न आग्रह गरे । गाउँमै आयआर्जका स्रोत बढाउन उनको आग्रह रहेको थियो । 

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी वैशाख १७ र २७ गते जुनसुकै अवस्थामा पनि निर्वाचन हुने ठोकुवा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत निर्वाचन एक दिन पनि पछि नसर्ने बताउँदै आएको भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । 

जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले पछिल्लो तीन वर्षमा जिल्लामा अभूतपूर्व विकास भएको बताउँदै आगामी निर्वाचनमा पनि बाँकी कार्यभार र आयोजना पूरा गर्न नेकपालाई नै विजयी गराउनुपर्नेमा जोड दिए । उनले विकास निर्माणका काममा तीनै तहका सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउँदै तीनै तहको सहकार्यबाट मात्र छिट्टै समृद्धि हासिल गर्न सकिने बताए । 

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ७ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।