Logo

प्रमुख समाचार

ओली वामदेव गहन परामर्शमा, आफ्नो निर्णयमा साथ दिन प्रधानमन्त्रीको आग्रह



पार्टी विभाजन गर्नको लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फसेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेसँगै पूर्व माओवादी खेमाका मन्त्रीहरूले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए भने उक्त अध्यादेश पार्टी फुटाउने षड्यन्त्र अन्तरगत आएको पूर्व माओवादी समूहको ठहर थियो ।

पूर्व माओवादी खेमाका मन्त्रीहरू कार्यकारी अध्यक्ष प्रचण्ड सँग छलफल गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने उपाध्यक्ष वामदेव गौतमसँग छलफलमा व्यस्त थिए । मन्त्रीपरिषद बैठक सकिए लगत्तै ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो निर्णयमा साथ दिन तथा पूर्व एमाले समूहलाई एकजुट पार्न उपाध्यक्ष गौतमलाई आग्रह गरेको स्रोतको दाबी छ । उपाध्यक्ष गौतमले भने अन्य नेताहरूसँग छलफल गरेपछि मात्रै आफू कुनै निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएको स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १८:५५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।