दुई विवादित अध्यादेशका कारण सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद अहिलेसम्म सेलाउने कुनै संकेत मिलेको छैन् । भलै दुवै विवादित अध्यादेश फिर्ता भइसके पनि अध्यादेशका कारण सिर्जित विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढेको छ ।
प्रधानमन्त्री ओलीमा नैतिकता, इमानदारीता र जवाफदेहीता नभएको भन्दै सत्तारूढ दलका अधिकांश प्रभावाशाली नेताहरू प्रधानमन्त्री ओलीको विरोधमा उत्रिएपछि ओलीलाई पदबाट राजिनामा दिनको लागि दबाब बढेको बताइन्छ ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिए पनि स्थायी कमिटी बैठक राख्नुपर्ने माग लगातार बढिरहेको छ । बैठक माग गर्ने ओली इतरका नेताहरूले प्रधानमन्त्रीको नैतिकतामाथि नै प्रश्न उठाउँदै आइरहेका छन् । सत्तारूढ दलकै प्रभावशाली नेताहरूले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठाउनु सामन्य परिस्थिति पक्कै होइन ।
गएको बिहिवार उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको ओली इतर समूहका ६ जना प्रभावशाली नेताहरूको भेलाले अध्यादेश फिर्ता लिन दबाब दिने र अध्यादेश फिर्ता लिएपछि नैतिकताको आधारमा ओलीलाई राजिनामा दिन बाध्य बनाउने रणनीति बनेको बताइन्छ । त्यसको लागि स्थायी कमिटी बैठक मार्फत सामूहिक दबाब दिने ओली इतर समूहको तयारी रहेको बताइन्छ । जसले ओलीको प्रधानमन्त्री पद नै धरापमा पारिदिएको विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री ओलीले आफूले अगाडि सारेको अध्यादेशकै आधारमा समाजवादी पार्टीका केही सांसदहरूलाई राजधानीको एक होटलमा राखेर पार्टी फुटाउन खोज्नुका साथै लालच र धम्की दिएको मात्रै होइन विपक्षी दलका सांसद डा. सुरेन्द्र यादवको अपहरणको निर्देशन दिएको सार्वजनिक भएको आरोप लागेको छ । कानुनविद्हरूले यस घटनामा प्रधानमन्त्रीको जुनसुकै तहमा संलग्नता भएको भएपनि अपराध भएको टिप्पणी गरेका छन् । यसले पनि प्रधानमन्त्री ओलीलाई आफ्नो पद बचाईराख्न त्यति सजिलो नभएको बताइन्छ ।
बिहिवार गौतम निवासमा भएको नेकपाका शिर्ष ६ नेताको भेलाले ओलीलाई पदच्युत गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री पदमा अगाडि सार्ने गोप्य रणनीति अगाडि बढाएको स्रोतको दाबी छ । सत्ताच्युत हुने डरले शुक्रबार हतार हतार मन्त्रीपरिषद बैठक बोलाएर दुवै अध्यादेश फिर्ता लिए पनि अध्यादेश फिर्ताले मात्रै नहुने भन्दै नेकपाका एक प्रभावशाली नेताले ‘अध्यादेश ल्याउनुको मनसाय प्रष्ट पारेर सांसद अपहरण प्रक्रियामा सामेल भएको हो वा होइन भन्ने विषयमा पार्टीलाई आश्वस्त तुल्याएर माफी माग्नुपर्छ ।’ उनको भनाइ थियो ।
अर्कोतिर पार्टी भित्रको विवादमा मध्यस्थताकर्ताको भूमिका निभाएका वरिष्ठ नेता नेपाल पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजना मुतावीक नै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब (उनकै भाषामा सुझाव) दिइरहेको समेत सार्वजनिक भएको छ । यो सँगै माधव नेपाल आगामी प्रधानमन्त्रीको दौडमा रहेको कुरा पनि बुझ्न् गार्हो छैन् ।
कम्तीमा एक साताभित्रै प्रधानमन्त्री ओलीलाई पदबाट राजिनामा गराएर वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री बनाउने रोडम्याप तयार भै सकेको बताइएको छ । स्रोतका अनुसार स्थायी कमिटी बैठक बोलाएर त्यहीँबाट राजिनामा दिन लगाउने यो समूहको तयारी छ ।
















प्रतिक्रिया