Logo

प्रमुख समाचार

पाल्पा एकमा पनि अन्तरघात हुनसक्छ, कांग्रेस सँग पनि सहयोग लिनुपर्छ: वामदेव गौतम



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले कोरोना महामारी पछि प्रधानमन्त्रीमा प्रस्तावित नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा प्रवेशको लागि पाल्पा एकबाट उठाउने तयारी छ । यसअघि बर्दियाबाट आफ्नै पार्टीका शिर्ष नेताहरूकै कारण आफू पराजित भएको महसुस गरेका गौतमले यसपटक पराजित नहुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि सहयोग लिने रणनीति बनाएको निकटस्थहरूलाई बताएका छन् ।

२०४८ सालपछि अहिलेसम्म नेकपा एमाले (२०७४ मा वामगठबन्धन) बिजयी भएको पाल्पा एकमा पनो अन्तरघात हुनसक्ने भएको भन्दै उपाध्यक्ष गौतम अहिलेदेखि नै निर्वाचनमा विजयी हुने रणनीति बनाउने गृहकार्यमा लागेको बताइएको छ । प्रतिनिधिसभामा गौतमलाई लैजाने भनिएको पाल्पा एक बाट गौतमलाई उठाउने कुनै औपचारिक जानकारी नआएको पाल्पा एकका सांसद दलबहादुर राना जिल्ला अध्यक्ष नारायण रानाले जानकारी दिएका छन् । सांसद गौतम पक्षधर र जिल्ला अध्यक्ष ओली पक्षधर नेता हुन् ।

नेकपाका महासचिव विष्णु पौडेलले तारतम्य मिलाएको पाल्पा एकमा अन्तरघात हुने जत्ति सम्भावना छ । स्थानीय नेता कार्यकर्ताको बहिष्कारको शिकार बन्नुपर्ने सम्भावना पनि उत्तिकै छ । सामाजिक सञ्जालमा नेकपाकै स्थानीय नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गर्दै बर्दियाको भन्दा हालत खराब हुने सार्वजनिक चेतावनी दिन थालेका छन् ।

कोही नपाएर उपाध्यक्ष गौतमले सोझो मगरलाई बलिको बोको’ बनाएको स्थानीय मगर समुदायका नेता तथा कार्यकर्ताको मत छ । अर्कोतिर ३ वट क्षेत्र हुँदाजस्तो सूर्यचिन्ह लिएर जो उठेपनी विजयी हुने अवस्था पनि छैन् । पाल्पा क्षेत्र नम्बर १ मा पाँच स्थानीय तह र थप २ वडा समेत यही क्षेत्रमा छन् । रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा र माथागढी र तानसेन नगरपालिका सहित तिनाउ नगरपालिकाको एक वडा पनि अहिले निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ ।

यसमा पूर्वखोला र निस्दी गौतमका लागि सहज रहेपनि माथागढी, रामपुर र रम्भा कठिन मानिएको छ । स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने निस्दीमा ७ मध्य २ वडा कांग्रेसले जितेको छ । रामपुर नगरपालिकामा कांग्रेसले जित्दा नेकपाले केही वडामा मात्रै विजयी भएको थियो । माथागढीका सबै वडामा कांग्रेस विजयी भएको थियो ।

यही कुरालाई विश्लेषण गरेर उपाध्यक्ष गौतमले स्थानीय तहमा कांग्रेस बाट विजयी भएका जन प्रतिनिधि सहित स्थानीय कांग्रेस नेता तथा कार्यकर्तासँग पनि सहयोग लिने रणनीतिमा लागेको समेत उनका निकटस्थहरूको भनाइ छ । त्यो सँगै पार्टीभित्रबाट हुनसक्ने अन्तरघात चिर्न पनि यसपटक विशेष तयारी गर्ने बुझिएको छ । यसपटक अन्तरघात भएपनि कांग्रेससँग सहयोग लिएर भएपनि निर्वाचित हुने रणनीति उनको छ ।

निर्वाचन जिते लगत्तै प्रधानमन्त्री बन्ने भएकोले प्रधानमन्त्रीलाई निर्वाचित गर्ने क्षेत्रका जनतालाई प्रधानमन्त्रीको तहबाट सिधै हेर्ने सम्मको रणनीति उपाध्यक्ष गौतमले अख्तियार गर्न खोजेका छन् । यति तयारीको बाबजुद निर्वाचनमा सफल हुन्नन आगामी दिनले नै प्रष्ट पार्ने छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार ०६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।