प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रै मुख छोड्नेहरूले अहिले सडकबाट गाली गरिरहेको बताएका छन् ।
बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाललाई लक्षित गर्दै तीन वर्ष पार्टीभित्रै बसेर गाली गर्ने, सरकारलाई असहयोग गर्दै आएकाहरुले अहिले सडकबाट गाली गरिरहेको बताए ।
“तीन वर्ष पार्टीभित्रै बसेर मुख छोड्ने, टेलिभिजन, पत्रपत्रिका, रेडियोमा गएर गाली गर्ने, मुख छोड्ने तत्वहरू अहिले सडकमा बसेर गाली गरिहेका छन्।” प्रधानमन्त्री ओलीले भने ।
अहिले उनीहरू पार्टीबाट बाहिरिएपछि सरकारले राम्रो र सहज ढंगले काम गर्न पाएको बताए ।
“तीन वर्षदेखि संवैधानिक आयोगहरू बन्न सकेनन्। उहाँहरु हट्नुभयो। आयोगहरू बने। पार्टी तीन वर्षदेखि गतिशिल थिएन। उहाँहरू हटेपछि पार्टी गतिशिल बन्यो। तीन वर्षमा यस्तो अवस्थामा पुगेको थिए।” उनले भने ।
महाधिवेशनबाट पार्टी अध्यक्ष बन्नुहोला भन्दा उनीहरूले अहिले नै अध्यक्ष चाहिने भन्दै आफूलाई काम नै गर्न नदिएको बताए । पार्टी बलियो बनाउनुभन्दा पनि गुट बलियो बनाउनतिर लागेको भन्दै उनले पार्टी फुटेको छैन केही तत्वहरू मात्रै बाहिरिएको बताए। बाहिर गएकाहरू अहिले अत्तालिएर सडकमा डम्फु बनाउँदै हिडेको बताए ।
आफूलाई काम गर्न नदिएपछि जनतामाँझ जाने निर्णय गर्नु प्रतिगमन भयो भन्ने गरेको भन्दै जनताको बीचमा जानु हुन्न भन्ने कस्तो खालको कुरा हो? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे।
प्रतिक्रिया