अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद समाधानको प्रयास स्वरुप सत्तारूढ नेकपाको सचिवालय बैठक आइतबार अपरान्ह ४ बजेको लागि तय भएको छ ।
एमसीसी जसरी पनि पास हुनैपर्ने अडानमा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको सचिवालयमा अल्पमतमा छन् । यस्तोमा प्रधानमन्त्री ओलीले एमसीसी परियोजना पास गर्न सहयोग गरे उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री सहित कार्यवाहक प्रधानमन्त्री दिने अफर गरेको उच्च राजनैतिक स्रोतले दाबी गरेको छ ।
पार्टीको सचिवालयमा एमसीसीको पक्षमा प्रधानमन्त्री ओली सहित, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा बादल र महासचिव विष्णु पौडेल छन् । उपाध्यक्ष गौतमले एमसीसीको पक्षमा समर्थन गरेमा सचिवालयमा बहुमत पुग्ने समीकरण छ । यस्तोमा उपाध्यक्ष गौतमले एमसीसीको पक्षमा आफ्नो मत जाहेर गरे एमसीसी पास हुनु अगावै उपप्रधानमन्त्री बनाउने बचन प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई आफ्ना विश्वासपात्र मार्फत गरेका छन् ।
गत आइतबार पनि उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पनि उपप्रधानमन्त्री सहित कार्यवाहक प्रधानमन्त्री चलाउन अफर गरेको स्रोतको दाबी छ । आफ्नो स्वास्थ अवस्थाको कारण पनि सक्रिय हुन नसकेको भन्दै पार्टीको सचिवालय र मन्त्रीपरिषदबाटै निर्णय गरेर कार्यवाहक प्रधानमन्त्री दिने प्रस्ताव ओलीले गौतम समक्ष राखेका थिए, स्रोतले दाबी गर्यो ।
जवाफमा उपाध्यक्ष गौतमले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधन विना पास गर्न नसकिने सचिवालयका अन्य सदस्यको पक्षमै आफू अडिग रहेको जवाफ दिएको समेत स्रोतले दाबी गरेको छ ।
गत वैशाख १७ मा पार्टीको सचिवालय बैठकमा अल्पमतमा परेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदबाट हट्ने परिस्थिति तयार हुनै लाग्दा समेत उनै गौतमलाई कोरोना संकट समाप्त भए लगत्तै राजीनामा दिने र उपाध्यक्ष गौतमलाई सांसद निर्वाचित गरेर प्रधानमन्त्री बनाउने अफर दिएर सत्ता संकट टारेका थिए ।




















प्रतिक्रिया