सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई लिएर अप्ठ्यारो अवस्थामा पुगेको छ ।
एमसीसीकै बिषयमा छलफल गर्नका लागि भन्दै २७ जेठ र ३२ जेठमा बोलाइएको पार्टीको सचिवालय बैठक समेत बस्न सकेन । पछिल्लो समय सत्तारूढ नेकपामा एमसीसीलाई लिएर नयाँ समीकरण तयार भएको त्यही कारण पटकपटक सचिवालय बैठक समेत स्थगित हुन पुगेको बताइन्छ ।
यसअघि एमसीसी जसरी पनि पास हुनुपर्ने अडानमा रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसीसीमा तटस्थ बसेपछि यसले सत्तारूढ नेकपामा ठूलो हलचल नै मच्चिएको छ ।
संसदमा प्रवेश गरिसकेको एमसीसीलाई लिएर प्रधानमन्त्री ओलीले पछिल्लो समय पास गराउन वा फेल गराउन नलाग्ने पार्टीको गरेको निर्णय मान्य हुने बताएसँगै सचिवालयमा बहुमतमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरू अन्यौलमा पर्नुका साथै एमसीसी पास गराउनै पर्ने बाध्यतामा पुगेका छन् ।
२७ जेठ र ३२ जेठको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘एमसीसी पास गर्ने भए छलफल गरौं म सहभागी हुन्छु, यसमा अरु छलफल आवश्यक छैन् । फेल गर्ने हो भने तपाईंहरु निर्णय गर्नु वा अरु कुनै छ्लफल आवश्यक छ भन्ने मत हो भने सचिवालय सदस्य नरहेका तर यसमा लामो अध्ययन गरेका एमसीसी कार्यदलका सदस्य डा. भिम रावल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडा सँग छलफल गरेर निर्णय गर्नु’ भनेपछि कार्यकारी अध्यक्ष प्रचण्ड हच्केको बताइन्छ ।
‘एमसीसीको बिषयमा तपाईंहरुलाई मैले धेरैपटक बुझाउने कोशिश गरें, तपाईहरुले यसैमा अनावश्यक राजनीति गर्न थाल्नु भयो । यसअघि निर्णय गर्ने कोशिश पनि तपाईंकै ‘डबल रोल’का कारण असफल भयो । मलाई एमसीसी पास होस् या फेल होस् केही फरक पर्दैन फरक पर्ने तपाईहरुलाई हो ।’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले अनलाइनपानालाई जानकारी दिए ।
यो सँगै कार्यकारी अध्यक्ष प्रचण्ड भने संसदबाट जसरी पनि एमसीसी पास गराउनुपर्ने बाध्यतामा पुगेका छन् । सत्तारूढ नेकपाको एकल अध्यक्ष बन्दै सत्ताको नेतृत्वमा पुग्ने प्रचण्डको ध्येयलाई एमसीसीले ठूलो धक्का दिन सक्छ । पछिल्लो समय चीन निकट देखिएका प्रधानमन्त्री ओलीलाई छोडेर चीनले प्रचण्डलाई सहायता गर्ने अवस्था छैन् । तत्कालीन एमालेसँग पार्टी एकता गरेदेखि नै भारत प्रचण्डसँग रुष्ट छ । अहिले सीमा विवाद सँगै नेपालको राजनीतिमा भारतिय प्रभाव निकै ओरालो लागेको अवस्था छ भने एमसीसी फेल भयो भने त्यसको सबैभन्दा ठूलो अपजस प्रचण्डलाई नै जाने र अमेरिकाको नजरमा समेत नपर्ने डरले प्रचण्डलाई सताएको छ । यसकारण प्रचण्ड एमसीसी पास गराउने लविङमा लागेका छन् तर प्रधानमन्त्री ओली भने मौन बसेर एमसीसीमै राजनीति गर्न थालेको प्रचण्ड पक्षधरहरुको बुझाई छ ।
२७ जेठ र ३२ जेठको सचिवालय बैठक अवरुद्ध भएपछि प्रचण्डले सचिवालयका ओली इतर सबै नेताहरुसँग पटकपटक औपचारिक / अनौपचारिक छलफल गरिरहेका छन् । यस आर्थिक वर्षको १६ असारसम्म संसदबाट पारित नभए यो परियोजना स्वत रद्द हुन्छ । यसको सबैभन्दा ठूलो अपजस प्रचण्डले नै बेहोर्नुपर्ने हुनाले पछिल्ला दिनमा प्रचण्डको सक्रियता निकै बढेको जानकारहरुको भनाइ छ ।
पार्टीभित्र एमसीसीको पक्ष र विपक्षमा विवाद बढ्दा त्यसैमा राजनीति गरेर आफ्नो दुनो सोझ्याएका प्रचण्डलाई ओलीको पछिल्लो रणनीतिले समस्यामा पारेको छ । प्रधानमन्त्री ओली भने एमसीसी पास गर्ने गरी बस्ने सचिवालय बैठकमा मात्रै सहभागी हुने अडानमा रहँदा ओलीको अनुपस्थितिमा एमसीसी बारे प्रचण्डले पार्टीबाट गराउने निर्णय ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार’ भन्ने नेपाली उखान जस्तो भएको छ ।
पछिल्ला दिनमा ओली पक्षधर सचिवालय सदस्यहरुले समेत कार्यकारी अध्यक्ष प्रचण्डलाई ‘प्रधानमन्त्रीको स्वास्थ अवस्था ठिक नभएको र पार्टीको कार्यकारी अध्यक्ष तपाई नै भएको’ भन्दै एमसीसीका बारेमा पार्टीले ठोस निर्णय गर्नुपर्ने अडान राखिरहका छन् भने वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतम भने एमसीसी जस्ताको तस्तै पास गर्न नहुने अडानमा छन् ।
अमेरिकाले भने एमसीसीमा संशोधनको समयसीमा सकिएको भन्दै पास वा फेल गर्ने अप्सन मात्रै नेपालसँग रहेको बताइसकेको छ । अब एमसीसी बारे प्रचण्ड र सत्तारूढ नेकपाको निर्णय के हुन्छ त्यो हेर्न केही दिन भने पर्खनुको अर्को विकल्प भने छैन् ।
















प्रतिक्रिया