प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । बिहीबार राष्ट्रियसभाबाट बजेट पास भएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका हुन् । सत्तारूढ दल नेकपाभित्र अहिले एमसीसीलाई लिएर विवाद छ ।
प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेल एमसीसीलाई संसदवाट अनुमोदन गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ विरुद्धमा छन् । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा एमसीसीको विरुद्धमा भएपनि उनले यसवारेमा आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा सोमवार भएको भेटमा समेत प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच एमसीसीबारे सहमती हुन सकेन् । शितलनिवासमा भएको भेटमा नेकपाका अध्यक्ष प्रचण्डले पूर्व माओवादीमा उर्जामन्त्री समेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन अनन्त बाहेक कोही पनि एमसीसीको पक्षमा नरहेकाले यसलाई अघि बढाउन नसकिने प्रष्ट जवाफ दिएका छन् । प्रचण्डको अडानपछि एमसीसी संसदवाट पारित हुने सम्भावना कम भएको छ ।
पार्टीभित्र चर्को विरोध भएपछि प्रधानमन्त्री ओली पनि एमसीसीका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको स्रोत बताउंदछ । उनले एमसीसी पारित गर्न हरसम्भव कोशिस गर्ने नभएपनि त्यसैका लागि मरिहत्ते नगर्ने रणनीति बनाएका छन् ।
प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री ओली भने मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा छन् । उनी सचिवालयका सदस्यहरु गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलबाहेक पुराना मन्त्रीहरु परिवर्तन गर्ने तयारीमा छन् ।
प्रधानमन्त्री ओली पूर्व माओवादीबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने उर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई परिवर्तन गर्ने पक्षमा छन् । पुराना मन्त्रीमध्येबाट वनमन्त्री शक्ति वस्नेत र गृहमन्त्री थापालाई निरन्तरता दिनेमा प्रधानमन्त्री ओली छन् ।
उद्योगमन्त्री लेखराज भट्ट र श्रममन्त्री रामेश्वर राय यादव मन्त्री भएको धेरै नभएकाले उनिहरुलाई हटाइहाल्ने पक्षमा प्रधानमन्त्री ओली नभएको स्रोतको दावी छ । उद्योगमन्त्री भट्ट त पछिल्लो समय प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेकाले पनि उनि मन्त्रीका रुपमा रहिरहने सम्भावना छ । तर, अर्का अध्यक्ष प्रचण्ड उद्योगमन्त्री भट्ट र गृहमन्त्री थापाको विकल्प खोज्नेमा छन् ।
प्रधानमन्त्री ओलीले नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य श्रेष्ठलाई त शिक्षामन्त्रीका रुपमा सपथ गर्न आग्रह गरिसकेका छन् । तर, श्रेष्ठले परराष्ट्रमन्त्रालयमै रुची देखाएका छन् । प्रधानमन्त्रीले श्रेष्ठलाई मात्र होईन उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री वन्न आग्रह गरेका छन् ।
श्रेष्ठ र गौतम मन्त्रिपरिषदमा प्रवेशगरेसंगै सचिवालयमा बहुमत वन्ने प्रधानमन्त्रीको हिसाव छ । यता अर्थमन्त्रीकै लागि पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे समेत दौडमा छन् ।
पूर्व एमालेवाट अर्थमन्त्री युवराज खतिवडासहित, भूमिसुधार मन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई हटाउने पक्षमा प्रधानमन्त्री ओली छन् । त्यसका साथै रिक्त रहेको संचार र शहरी मन्त्रालयमा समेत नयां मन्त्री नियुक्त गर्ने तयारी उनले गरेका छन् ।




















प्रतिक्रिया