सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुर्घटनाको खतरा बढेर गएको छ । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सुरु भएको यो लडाइ कहाँ गएर टुंगिन्छ अहिलेसम्म कुनै अत्तोपत्तो छैन् ।
पार्टी भित्र र बाहिरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दी हुन थालेको प्रधानमन्त्रीकै निकटस्थहरुले बताउन थालेका छन् । प्रधानमन्त्री ओलीले यसलाई कसरी तोड्छन त्यो भने अबको १० दिनपछि प्रष्ट हुनेछ ।
प्रधानमन्त्री ओलीका सामु एमसीसीबाटपछि हट्ने वा सत्ता छाड्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण हुँदै छ । प्रधानमन्त्री ओली एमसीसीमा पार्टीको निर्णय मान्ने प्रतिबद्धता जनाएपनि एमसीसी पास गर्न कोशिश गरिरहेको प्रष्टै छ । पार्टीभित्रको समीकरणमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई उपाध्यक्ष वामदेव गौतमले साथ नदिने घोषणा गरेसँगै सत्तारूढ नेकपा दुर्घटनाको नजिक पुगेको विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई जुनसुकै संकटमा साथ दिंदै उद्दार गर्दै आएका उपाध्यक्ष गौतमको साथ नमिल्दा ओलीको संकट अझै बढेको छ । तत्कालीन एमालेको अध्यक्ष बन्न होस् वा दुई विवादित अध्यादेश प्रकरणमा समेत उपाध्यक्ष गौतमको साथले नै ओलीले सत्ता संकट टारेका थिए । तर, उपाध्यक्ष गौतमले ‘कुनै अवस्थामा आफूले एमसीसीलाई सहयोग गर्न नसक्ने र प्रधानमन्त्रीबाट अलग रहेको’ सार्वजनिक अभिव्यक्ति दिएपछि ओलीको सत्ता संकट गहिरिएको छ ।
उपाध्यक्ष गौतमले हिजो आफ्नो सचिवालयमार्फत् आफ्नो प्रधामन्त्री ओलीसँग विमति रहेकाले सरकारमा नजाने स्पष्ट पारिसकेका छन् । उनले पार्टीको औपचारिक निर्णय बमोजिम सरकार चल्नुपर्नेमा जोड दिदै त्यसो नभए कडा निर्णय आउनेसम्मको संकेत गरेका छन् । उनको आशय एमसीसीबारे नै थियो ।
प्रधानमन्त्री ओली एमसीसी संसदीय दलमार्फत् पारित गराउने गरी निर्णय गराउन चाहिरहेका छन् । तर, पार्टी निर्णय बमोजिम हुनुपर्ने अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको छ । सचिवालय सदस्य रामबहादुर थापा (बादल) पनि एमसीसीको विपक्षमा छन् । पक्षमा ओलीसहित ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल देखिएका छन् । यसरी सचिवालयमा ६ र ३ को अवस्था बनेको छ ।
भोलि सचिवालय डाकिएको छ । १० असारमा स्थायी समिति बैठक डाकिएको छ । बैठक टार्न सक्ने सम्भावनालाई दृष्टिगत गरी ओली अनुपस्थित भएपनि गर्ने तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । दुई तिहाई कोरम पुर्याएर भएपनि एमसीसीबारे निर्णय लिने ओलीइतरको रणनीति छ । त्यस अवस्थामा वार पार हुनसक्छ । ओलीले एमसीसी संसदबाट पारित गराएर जान खोजे पार्टी निर्णय विपरित हुनसक्ने र संसदमै नेकपाका सांसदहरुको पक्ष विपक्षमा मत पर्न सक्छ ।
ओलीले एमसीसीको बचाऊ हिजो पनि संसदमा गरे । उनले महाकाली सन्धीको बेलामा पनि विगतमा त्यतिकै उफ्रिएको भन्दै व्यङ्ग्य गरे । एमसीसी नपढी बोलेको समेत भनेर बचाऊ गरे । यसरी ओली पछाडि हट्ने सम्भावना कमजोर भइरहेको छ । अब वारपार एमसीसीबाटै हुने आँकलनका साथ नेकपाभित्रका उनको विरोधमा देखिएको समूह रणनीतिका साथ तयार भएको छ ।
प्रचण्ड, खनाल, माधव र गौतम बसेर रणनीति तयार गरिसकेको बुझिएको छ । यसपटक एमसीसीको मामलामा कोही यताउता नहुने समझदारी समेत बनेको विश्वस्त स्रोतले जनाएको छ । विगतमा बामदेवलाई प्रधानमन्त्री बनाउने अस्त्रले परिस्थिति फरक पर्न गएकाले हिजो उनको सचिवालयमार्फत् बोल्ने अवस्था बनाइएको थियो । गौतम बोलेपछि अब उनी ओलीको पक्षमा छैनन् भन्ने स्पष्ट भएको छ ।
एमसीसीमा जर्बजस्ती अगाडि बढ्न खोजे ओलीलाई कारबाही गर्ने सम्मको तयारी भएको छ । त्यसका लागि पाँचजना सचिवालय सदस्यको भित्री तयारी रहेको बुझिएको छ । बादल सरकारमा रहेकाले यताउता हुनसक्ने सम्भावना छँदैछ । बरु विष्णु पौडेल गुट परिवर्तन गर्नसक्ने अवस्था बन्न सक्छ । ओली र पोखरेल भने एकसाथ छन् ।
१५ असारभित्र एमसीसी संसदबाट पारित गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा उभिइसकेको छ । नेकमभित्र यसबारे मतभेद गहिरो छ । यसैलाई अस्त्र बनाएर ओली सरकार ढाल्न खोजेको कतिपयको बुझाई रहेको छ । हुनपनि अहिले यही विषयलाई लिएर ओली सरकारमाथि एकसाथ प्रहार गर्न नेकपाका हेभिवेटहरु लागेका छन् । यसको सामना गर्न भने ओलीलाई हम्मे पर्न सक्छ ।
















प्रतिक्रिया