Logo

प्रमुख समाचार

चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री ओली, सत्ता नै संकटमा !



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा परेका छन् । यसबारे प्रधानमन्त्री ओली स्वयं आफ्ना निकटस्थहरुसँग परामर्श थालेका छन् । बाह्यशक्ति देखि पार्टीभित्रको आन्तरिक शक्तिले एकसाथ घेराबन्दीमा पारेको भन्दै भन्दै प्रधानमन्त्री ओलीले घेराबन्दी तोड्ने योजनासहित आन्तरिक परामर्श थालेको बालुवाटार निकट उच्च स्रोतले दाबी गरेको छ ।

सरकार गठन भएको दुई वर्ष पुरा भएदेखि नै सरकार ढाल्ने खेलहरु सुरु भएको प्रधानमन्त्री ओलीको बुझाइ छ । लकडाउन अगाडि र लकडाउन अवधिमा सरकार पनि सरकार ढाल्ने खेल चलेपनि त्यसलाई विफल बनाउन सफल भएका प्रधानमन्त्री ओलीले आफ्नो चलाकिले असफल पारिदिएका थिए । यसपटक उनका लागि पनि घेराबन्दी तोड्न निकै कठिन हुन थालेको विश्लेषण गरिएको छ ।

ओलीलाई घेराबन्दीमा पार्न अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पेचिलो बनाइएको छ । उनीविरुद्ध नेकपाका स्थायी कमिटिका पाँचजना स्पष्ट रुपमा एकजुट भएका छन् । ती सबै नेकपाका हेविवेट हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एमसीसीका नाममा ओलीविरुद्ध एकजुट भएका छन् । एमसीसीको विपक्षमा रामबहादुर थापा बादल पनि छन् । त्यसैले सचिवालयका दुई तिहाई ओलीविरुद्ध छन् ।

यसपटक घेरा तोड्न ओलीलाई हम्मे पर्ने देखिएको छ । एमसीसी पारित गराउन लागिपरे चीन चिढिने संकेतहरु मिलिसकेको छ । अमेरिकी रणनीतिक कुनैपनि योजनाविरुद्ध चीनले चुनौती दिइसकेको छ । उसले आफूलाई घेर्न अमेरिकाले एशियामा रणनीति चालेको सञ्चारमाध्यमहरुमार्फत् विषय बाहिर ल्याइरहेको छ । यस्तो अवस्थामा एमसीसी पारित गर्दा चीन चिढिनसक्छ । चीनले नै ओलीको सत्ता जोगाइदिएको विषय अझै चर्चामा छ ।

एमसीसी पारित नभए अमेरिकाको साथ नमिल्ने अवस्था बन्न सक्छ । यसबारे ओली निकै गम्भीर भएका छन् । एमसीसी पारित गर्न नसके ओलीले भित्री खेल खेलेको बुझाई पश्चिमाहरुको हुनसक्छ । अर्को छिमेकी भारत ओलीसँग चिढिएको छ । नयाँ नक्शा देखि पछिल्लो समय उठेका कतिपय विषयमा भारत गम्भीर भएको छ । बाह्य चुनौती ओलीका सामु बढिरहेको छ ।

अब ओलीले घेराबन्दी तोड्ने बाहय र आन्तरिक व्यवस्थापन गर्ने प्रयास गरिरहेका छन् । बाह्य शक्तिलाई साथमा लिने र आन्तरिक रुपमा पार्टीका कुनै एक हेभिवेटलाई साथमा लिने हुनसक्छ । ओलीलाई बामदेवले साथ छाडिसकेका छन् । प्रचण्डलाई मनाउने या माधवकुमार नेपाललाई फकाउने हुनसक्छ । यो पनि अब टर्दै गएको छ । यस्तो अवस्थामा ओलीका लागि सत्ता टिकाउन निकै चुनौती बन्दै गएको छ । उनले मन्त्रिमण्डलमा फेरबदल गरेर भएपनि व्यवस्थापन गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ । तर, यी सबै प्रयासहरु यसपटक सफल हुन कठिन बन्दै गएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आईतवार ११:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।