Logo

प्रमुख समाचार

पार्टी अध्यक्षबाट राजीनामा दिने ओली तयार, माधव नेपाललाई पहिलो बरियता प्राप्त अध्यक्ष बन्न प्रस्ताव



प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी संकटमा परेसँगै पार्टीको अध्यक्ष पदबाट राजिनामा दिन समेत तयार भएका छन् । पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेको निष्कर्ष निकाल्दै यसलाई तोड्न अन्तिम अस्त्र मानिएको ‘एक व्यक्ति एक पद’लाई स्वीकार गर्दै राजीनामा दिन तयार भएका छन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्ष बन्न समेत आफ्ना निकटस्थ मार्फत प्रस्ताव पठाएका छन् । तर, ओलीको प्रस्ताव वरिष्ठ नेता नेपालले स्वीकार गर्छन् वा गर्दैनन् त्यो भने अहिलेसम्म प्रष्ट हुन सकेको छैन् ।

अर्कोतिर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुमलटार निकट स्रोतले दाबी गरेको छ । तैपनि प्रधानमन्त्री ओली भने वरिष्ठ नेता नेपाललाई मनाएर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउने रणनीतिमा छन् ।

ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रचण्ड सहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहमत भएका छन् । गृहमन्त्री पदबाट हटाइन लागेका रामबहादुर थापा बादल पनि यो समूहमा सामेल भएको तथा उपाध्यक्ष वामदेव गौतमले समेत यो समूहलाई साथ दिने बचन दिएको स्रोतले जनाएको छ । यो सँगै ओलीको सत्ता संकट गहिरिएको छ ।

यदि वरिष्ठ नेता नेपाल अध्यक्ष बन्न सहमत नभए प्रधानमन्त्री ओलीले कठोर कदम चाल्ने संकेत निकटस्थहरूसँग गरेका छन् । त्यो कठोर कदम संसद विघटनसम्म हुनसक्ने आकलन गरिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबिचको भेटघाटमा कार्यकारी अध्यक्ष प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलकै सामुन्ने राजिनामा मागेका थिए भने प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम सहितका नेताहरूलाई सरकारमा सामेल गराउने योजना सुनाएका थिए ।

मंगलबारको बालुवाटारको भेटघाट पछि दुबैपक्ष आ-आफ्नो रणनीति तय गर्न आन्तरिक गृहकार्यमा लागेको छ । भने पार्टीको स्थायी कमिटीको बैठक केही बेरमै सुरु हुनु अगाडि दुबै पक्ष आफ्नो पक्षमा समीकरण बदल्न कसरत गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार १०:३५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।