प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने रोडम्याप तयार अवस्थामा रहेको सार्वजनिक भएको छ । आश्चर्य त स्वंय ओलीको क्याविनेटकै प्रभावशाली मन्त्री नै ओलीलाई हटाउने खेलमा लागेको स्रोतले दाबी गरेको छ ।
यसैपनि पार्टीभित्रको समिकरणमा ओली अल्पमतमा रहेको त सार्वजनिक भएकै कुरा हो । सत्तारूढ नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एक ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली प्रष्ट अल्पमतमा छन् । अहिले चलिरहेको स्थायी कमिटी बैठकमा ओलीको पक्षमा ओली सहित १३ जना मात्रै छन् भने प्रचण्ड-नेपाल गठबन्धनमा ४४ स्थायी कमिटी सदस्य छन् । चालु स्थायी कमिटी बैठकबाटै ओलीलाई प्रधानमन्त्री पदबाट हटाईयो भने आश्चर्य नहुने नेकपाकै नेताहरुले बताउँन थालेका छन् ।
अर्कोतिर बुधबार सुरु भएर स्थगित भएको नेकपाको स्थायी कमिटी बैठकमा समेत सरकारको कामकारबाहीको समिक्षा, कोभिड-१९ नियन्त्रण तथा एमसीसी लगायतका छलफलका एजेन्डा तय भएपनि छलफल विषयान्तर हुँदै प्रधानमन्त्री ओली प्रधानमन्त्री पदमा कायम रहने वा नरहने भन्ने बहसमा पुगेको छ । कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले ओलीको बहिर्गमनको रोडम्याप नै तयार पारिसकेको चर्चा नेकपा वृत्तमा चल्नुले पनि ओली प्रधानमन्त्री पदबाट बहिर्गमनको नजिक रहेको चर्चा चलेको छ ।
यतिबेला अन्तराष्ट्रिय शक्तिसन्तुलन समेत प्रधानमन्त्री ओलीको विपक्षमा देखिनुले पनि उनको पद धरापमा पर्ने विश्लेषण गरिएको छ । यस अघि पनि अल्पमतमा परेर प्रधानमन्त्री वा पार्टी अध्यक्ष पद नै धरापमा पर्दा चीनको आशिर्वादले जोगिएको आरोप लागे पनि यति बेला छिमेकी चीन समेत ओलीसँग रुष्ट बनेको नेकपाकै नेताहरूले बताउन थालिसकेका छन् ।
दक्षिणतिरको छिमेकी भारत त यसै पनि ओलीको कार्यशैली र उनले लिएका निर्णयले असन्तुष्ट छ । तर, यसपटक भने भारत आफैं फ्रन्टलाइनमा आएर ओली हटाउने खेलमा लाग्ने परिस्थिति भने नभएको जानकारहरूको बुझाई छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई विवादित बनाएर पारित गर्न नसकेको भन्दै अमेरिका रुष्ट छ भने एमसीसी अनुमोदन गर्न लागेको भन्दै चीन रुष्ट हुँदा ओली बिआरआई र एमसीसीको चेपुवामा परेर पद गुमाउन सक्ने अन्तराष्ट्रिय परिस्थिति निर्माण भएको विश्लेषकहरू बताउँछन् । अन्तराष्ट्रिय स्वार्थको चपेटामा ओलीको प्रधानमन्त्री पद परेको बेला उनले आफ्नै पार्टीका नेताहरुलाई समेत बिस्वासमा लिन सकेका छैनन् ।
अध्यादेश प्रकरणमा सत्ताबाट बहिर्गमनको निकट पुगेका ओलीले भारतसँगको सीमा विवादमा दर्हो खुट्टा टेकेर राष्ट्रियताको सवालमा सबै दल र पक्षको साथ पाएका थिए । तथापी शासकीय रूपमा भ्रष्टाचारले ग्रस्त भएको भन्दै उनी नेतृत्वको सरकारको तीब्र आलोचना हुँदै आएको छ । स्थायी कमिटीको बैठकसँगै पार्टी भित्रका उनका विपक्षीहरूले यतिबेला यो आलोचनालाई अवसरको रुपमा लिन सक्ने विश्लेषण गरिएको छ । सरकारको भ्रष्ट कार्यशैली र एमसीसीको नाममा ओलीलाई सरकारबाट हटाउन उनका पार्टीभित्रका विपक्षीहरूलाई अहिले सबैभन्दा सजिलो र कम जोखिमपूर्ण विकल्प छ । यो विकल्प त्यतिकै खेर जान नदिने रणनीतिमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लागिसकेका छन् । यो समूह यताउता नहुँदासम्म ओलीको प्रधानमन्त्री पद असुरक्षित बनेको छ ।
बुधबारको बैठक सुरु भएसँगै सरकारको समिक्षा र एमसीसीमा ओलीलाई घेर्ने तयारीका साथ नेताहरू बैठकमा सहभागी हुँदै छन् । बिहीबार पार्टी कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पदबाट राजिनामा दिएर पार्टीको सर्वोच्च नेताको रूपमा बस्न अन्यथा जे पनि हुनसक्ने भन्ने अभिव्यक्ति दिएपछि ओलीको सत्तासंकट अझै गहिरिएको अनुमान गर्न गाह्रो छैन् । राजनीतिका चतुर खेलाडी ओलीले यो परिस्थितिको सामाना कसरी गर्छन् । त्यसले नै ओलीको प्रधानमन्त्री पद सुरक्षीत हुने वा नहुने भन्ने निर्क्यौल गर्नेछ ।
















प्रतिक्रिया