Logo

प्रमुख समाचार

स्थायी कमिटी बैठमा ओली अनुपस्थित, आकस्मिक स्वास्थ समस्या वा बहिष्कार ?



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । यसलाई प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक बहिष्कार गरेको अर्थमा बुझिएको छ ।

शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री ओली सुरुवातदेखि नै अनुपस्थित रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । गएको बुधबारबाट सुरु भएको स्थायी कमिटीको बैठकमा उपस्तिथित भएर आफ्नो धारणा राखेका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल बाट अवरोधको सामना गर्नुपरेपछि झस्किएको बताइन्छ ।

पार्टीभित्र गुटबन्दी गरेर आफूलाई गलाउन पार्टीभित्रकै नेताहरू लागेको भन्दै असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले स्वास्थ समस्याको बहानामा स्थायी कमिटी बैठक छलेको हुनसक्ने जानकारहरूको भनाइ छ । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको अनुपस्थितिको बारेमा सदस्यहरूले चासो राखेपनि कुनै विवरण सार्वजनिक गरिएको छैन् ।

बैठकमा अहिले भारतसँगको सीमा विवादबारे छलफल भैरहेको छ । सीमा विवादमा सदस्यहरूले धारणा राखेपछि परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद हल गर्न सरकारले गरेका प्रयासबारे बैठकलाई जानकारी गराएका छन् ।

उनले भारतसँगको सीमा विवाद समाधानका लागि सरकारले उच्चतम प्रयास जारी राखेको बताए । यस्तै उनले चीनसँग नेपालको कुनै किसिमको सीमा विवाद अहिले नरहेको बताए । उनले चीनतर्फको सीमाबारे पछिल्लो विवाद सृजित समस्या रहेको जिकिर गरे ।

१९६१ मै चीनसँगको विवाद समाधान भइसकेको बताएका ज्ञवालीले अहिले फर्जी कागजात तयार पारेर चीनसँग पनि विवाद रहेको भनेर गलत प्रचार गर्ने प्रयत्न चलिरहेको जानकारी बैठकलाई गराएका छन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १३:३४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।