Logo

प्रमुख समाचार

प्रचण्ड-नेपाल रोक्ने ओलीको रणनीति: भावी प्रधानमन्त्रीमा नेम्वाङ



सत्तारूढ नेकपा भित्रको आन्तरिक विवाद चुलिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड – नेपाल गठबन्धनलाई निस्तेज पार्न भावी प्रधानमन्त्रीमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत प्रधानमन्त्री बनाउन तयार भए आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने प्रस्ताव प्रचण्ड – नेपाल समूहलाई प्रस्ताव गरेको छ ।

बिहीबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओली पक्षीय नेताहरूको छलफलमा ओली पक्षीय नेताहरूले प्रधानमन्त्री ओलीको उक्त प्रस्ताव प्रचण्डसामु राखेका थिए । जवाफमा प्रचण्डले पहिले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिएपछि मात्रै को के बन्ने छलफल सुरु हुने जवाफ दिएको स्रोतले जनाएको छ ।

ओली पक्षीय नेताहरूले भने अहिले दुई अध्यक्ष मिलेर जानुको विकल्प नभएको भन्दै बहुमतको बलमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट हटाउन खोजिए त्यसको परिणाम नराम्रो हुने बताउँदै त्यसको मूल्य चुकाउन तयार रहन चेतावनी दिएको बुझिएको छ । ओली पक्षीय केही नेताहरूले अहिले एक व्यक्ति एक पदको कुरा पनि उचित नभएको तर्क अगाडि सारेका छन् ।

उता प्रधानमन्त्री ओलीले भने बिहीबारको सचिवालय बैठकमा समेत यही प्रस्ताव लैजाने तयारी गरेको स्रोतले जनाएको छ । भावी प्रधानमन्त्रीमा आफू अनुकुलको पात्रको नाममा सहमत नभएसम्म प्रधानमन्त्री पदबाट राजिनामा नदिन ओली पक्षका नेताहरूले प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छन् ।

२०६२/६३ जन आन्दोलन पछि पुनर्स्थापित संसदको सभामुख हुँदै संविधान सभाको सभामुख भएर संविधान जारी गरेको तथा पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्दा नेम्वाङ नै प्रधानमन्त्रीको लागि उपयुक्त रहेको एंव संसदीय दलको उपनेता समेत भएकोले सबै हिसाबमा नेम्वाङ नै प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार हुनुपर्ने ओली पक्षीय नेताहरूको जिकिर छ ।

उता, ओली इतर समूहले भने पार्टीभित्र आफ्नो समूहको बहुमत रहेको र ओली गल्दै गएकोले निशर्त राजिनामाको लागि बाध्य हुने आकलन गर्दै आफ्नो समूहका मन्त्रीहरुलाई सामूहिक राजिनामाको लागी तयार रहन निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार ११:१९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।