Logo

राजनीति

बैतडीमा काँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण



 नेपाली काँग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।

उक्त समूहले ढुङ्गा मुढा गर्दा नेता साउदको पेटमा ढुङ्गा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरूको ढुङ्गा मुढापछि काँग्रेसको आमसभा बिथोलिएको थियो ।

उनीहरूको ढुङ्गा लागेर काँग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित अन्य एक जना पनि घाइते भएका छन् ।उनीहरूको टाउकोमा चोट लागेको भट्टले जानकारी दिए । नेता भट्टका अनुसार आक्रमणपछि काँग्रेसले आमसभा आयोजना गरेको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको थियो । जोशीसहित एक सय जना सोमबार काँग्रेस प्रवेश गरेका थिए ।

मंगलवारको कार्यक्रममा जोशीले सम्बोधन गर्ने क्रममा ओली समूहका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । जोशी गाउँपालिकाको कार्यालय सार्नका लागि गठित सङ्घर्ष समितिका संयोजकसमेत हुन् । कार्यक्रमस्थल पंसेरा गाउँ जिल्ला अध्यक्ष पालको गाउँ हो ।

यसअघिको आम निर्वाचनमा काँग्रेसले आयोजना गरेको कार्यक्रमहरूमा पनि नेकपाले पटक पटक आक्रमण गरेको थियो । अहिले उक्त क्षेत्र तनावग्रस्त छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  ६ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।