Logo

प्रमुख समाचार

नेकपा विवाद: तिनै समूहका दोस्रो तहका नेताहरूको छुट्टै भेला



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सम्भावित फुटबाट जोगाउन भन्दै उक्त पार्टीका दोस्रो तहका नेताहरूले पनि आफ्नो छलफललाई तीब्रता दिएका छन् । पार्टीलाई फुटबाट जोगाउँन आवश्यक रणनीतिको निर्माण तथा शिर्ष नेतृत्वलाई दबाब दिन भन्दै छलफल गरिरहेका हुन् ।

कृषिमन्त्री घनश्याम भुषालको अग्रसरतामा नेकपाका तिनै गुटका दोस्रो तहका नेताहरूको छलफल ललितपुरको एक होटलमा सुरु भएको छ । उनीहरूले पार्टीलाई फुटबाट जोगाउन शिर्ष नेतृत्वलाई दबाब दिने रणनीति बनाएका छन् ।

पार्टी विभाजन भए कम्युनिष्ट आन्दोलनका साथै आफूहरूको राजनैतिक भविष्य समेत समाप्त हुने भन्दै उनिहरूले जुनसुकै मूल्यमा पार्टी फुट्न दिन नहुने भन्दै शिर्ष नेतृत्वलाई दबाब दिने बारेमा छलफल भैरहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने प्रचण्ड नेपाल समूहको माग छ भने प्रधानमन्त्री ओलीले दुबै पदबाट राजिनामा दिन अस्वीकार गर्दै बरु पार्टी विभाजन गरेर समेत जान सक्ने चेतावनी दिएपछि नेकपा फुटको नजिक रहेको विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच विवाद समाधानका लागि भन्दै पटक पटक बैठक समेत ठोस निष्कर्षमा पुग्न नसकेका बेला नेकपाका दोस्रो तहका नेताहरूले सक्रियता बढाएका हुन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १३:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।