नेपालमा पनि भारतीय जनता पार्टी (भाजपा) खोल्ने त्रिपुराका मुख्यमन्त्री विप्लवदेवको अभिव्यक्तिमाथि नेकपाको दाहाल-नेपाल समूहले आपत्ति जनाएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा भाजपाको संगठन बिस्तार गर्ने र सरकार बनाउने अभिव्यक्तिले दुई देशबीचको कूटनीतिक सम्बन्धमा नकारात्मक असर पर्ने बताएका हुन् ।
‘भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालका सम्बन्धमा प्रकट गरेका अभिव्यक्तिप्रति हाम्रो पार्टी नेकपाको गम्भीर ध्यानाकर्षण भएको छ’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केही दिनअघि मुख्यमन्त्री देवले तात्कालीन भारतीय जनता पार्टीका अध्यक्ष एवं भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल लगायतका देशहरूमा पनि भारतीय जनता पार्टीको संगठन बिस्तार गर्ने र सरकार बनाउने धारणा राखेको अभिव्यक्ति दिएका थिए ।
श्रेष्ठले विज्ञप्तिमा यस प्रकारको अभिव्यक्तिप्रति नेकपाले गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गरेको जनाएका छन् । विज्ञप्तिमा भारत सरकार र अमित शाहले प्रष्टीकरण दिनुपर्ने माग गरिएको छ ।
‘नेकपाले यस प्रकारको अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले हाम्रा दुई छिमेकी मित्रराष्ट्रहरूबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहबाट समेत स्थिति स्पष्ट पारिने अपेक्षा गर्छौ’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया