Logo

पत्रपत्रिका

देउवाको सन्देश बोकेर दिल्ली पुग्यो काँग्रेस टोली



कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले दिल्लीमा भाजपा अध्यक्ष जयप्रकाश नड्डालाई भेटेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट नेपाल भ्रमणको निम्तो दिएको छ ।

नड्डाले नेपाल भ्रमणका लागि इच्छुक भएको भन्दै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिएका छन्। महतसहित नेताहरू उदयशमशेर राणा र अजय चौरसियाको टोलीले बिहीबार नड्डा र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत नेताहरूसँग भेट गरेको हो । टोली बिहीबार नै दिल्ली पुगेको थियो ।

‘प्रधानमन्त्री एवं पार्टी सभापतिका तर्फबाट भाजपा अध्यक्षज्यूलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको छ । उहाँले नेपाल भ्रमणका लागि इच्छा देखाउँदै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिनुभएको छ,’ भेटवार्तापछि डा. महतले दिल्लीबाट टेलिफोनमा भने । दुई पार्टी र देशबीच एक–अर्कालाई नजिकबाट बुझ्न यो भ्रमण भएको विषयमा छलफल भएको पनि उनले बताए । ‘दुई देशबीच पनि समानता र सम्मानका आधारमा सम्बन्ध अघि बढाउनुपर्छ भन्नेमा भाजपा अध्यक्षज्यूको जोड थियो । हामीले पनि त्यही भन्दै आएका थियौँ । दुई देशका जनताको सांस्कृतिक सम्बन्धका विषयमा पनि हामीबीच छलफल भयो,’ डा. महतले भने ।

भारतीय जनता पार्टीले पनि दुई पार्टी र देशबीच सम्बन्ध थप सुदृढ बनाउने विषयमा कांग्रेस प्रतिनिधिमण्डलसँग छलफल भएको जनाएको छ । भाजपाले दुई पार्टीबीच विभिन्न आयाममा सम्बन्ध सुदृढ गर्ने विषयमा अन्तक्र्रिया भएको जनाएको छ । अध्यक्ष नड्डाले नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्नुपर्ने विषयमा जोड दिएको भाजपाले ट्विटरमा जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलले शुक्रबार भारतीय विदेशमन्त्री डा. एस जयशंकर र भाजपाका शीर्ष नेतासँग भेटवार्ता गर्ने तय भएको छ । यसैगरी टोलीले शनिबार उत्तरप्रदेशको लखनउ पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भदौ पहिलो साता नेपालको औपचारिक भ्रमणमा काठमाडौं आएका भाजपा विदेश विभाग प्रमुख डा. चौथाइवालेको निमन्त्रणामा कांग्रेसको प्रतिनिधिमण्डल दिल्ली गएको हो ।

प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको अपेक्षा गरेको छ । तर, स्रोतका अनुसार भाजपा नेतृत्वले बिहीबार साँझसम्म मोदीसँगको भेट सुनिश्चित गरेको छैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ०८:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।