Logo

मनोरञ्जन

‘चिसो एस्ट्रे’ चैत्र ४ देखि प्रदर्शनमा आउँदै





काठमाडौं । गाउँबाट आएर सहरिया बन्ने युवाको यात्रा समेटिएको फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ। आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेस गर्ने फिल्मलाई दिनेश पाल्पाली (दिन्श)ले निर्देशन गरेका हुन्। दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो।

निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए। ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ। आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै ‘चिसो एस्ट्रे’ हो।’

फिल्ममा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ। दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले ‘राहदानी’, ‘कारखाना’ आदि फिल्ममा काम गरिसकेका छन्। निकुन श्रेष्ठ, ‘छड्के’ र ‘झिग्राना’मा रुचाइएका कलाकार हुन्।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १०:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।