काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिकामा भू–माफियाले जग्गालाई सडकसँगै जोड्न नदीको धार नै परिवर्तन गरेको पाइएको छ ।
बिन्दवासिनी–२ बहुअर्वाभाठामा हुलाकी सडकको छेउबाटै बग्ने ढंगई नदीको धार परिवर्तन गरेर करिब १५ बिघा जग्गा सडकतिर ल्याइएको हो । हुलाकी सडक निर्माण भएसँगै उक्त क्षेत्रका जग्गाको भाउ बढेपछि भू–माफियाले नदीको धरा परिवर्तन गरेको स्थानीयहरू बताउँछन् ।

स्थानीयका अनुसार जग्गा कारोबारी राम नारायण ठाकुरले जग्गाको भाउ बढाउन नदीको धार नै उत्तर पश्चिमबाट ५० मिटर पश्चिम तर्फ परिवर्तन गराएका छन् । विगतमा उक्त नदी सो जग्गा र हुलाकी सडककको बीचबाट बग्ने गरेपनि अहिले भने सडक र जग्गासँगै छ ।
यस विषयमा ठाकुरसँग कुरागर्दा उनले आफ्नो जग्गामा नदीको धार परिवर्तन गर्न जसले नि पाउने जवाफ दिए । ‘नेपालको संविधानले नै निजी जग्गा वरपर रहेको नदीको धार परिवर्तन गर्न पाउने भनेको छ, ’ उनले भने, ‘नदी पर सरेपछि सडकलाई पनि कति राम्रो भएको छ । सडक पनि सुरक्षित भएको छ ।’

यसअघि पनि उक्त स्थानमा नदीको धार परिवर्तन गरेपछि गाउँपालिकाले एक्साभेटर लगाएर पहिलेकै स्थानमा ल्याएको थियो । अहिले फेरि नदीको धार परिवर्तन हुँदा गाउँपालिका भने मौन छ ।
यद्यपि गाउँपालिका अध्यक्ष श्रीलाल साह भने अबको ८ दिनभित्र नदी पुरानै स्थानबाट बहने गरी बाँध बाध्ने दावी गर्छन् । ‘पहिले जे भयो भइसकेको कुरा अहिले गरेर फाइदा छैन्, अबको ८ दिनमा बाँध बाँधेर नदीलाई पुरानै स्थितिमा ल्याउँछौं । त्यसका लागि १० लाख बजेट छुट्याइसकेको छु,’ उनले भने ।
उनलाई नदीको धार परिवर्तन गर्ने मानिसलाई किन कारवाही गर्नु भएन, तपाईले पैसा त खानु भएन भन्ने टेलिफोनमार्फत अनलाइनपानाले प्रश्न गर्दा हो भन्दै फोन काटिदिए ।






















प्रतिक्रिया