Logo

शिक्षा

सर्लाहीमा उत्कृष्ट ३ केन्द्राध्यक्ष सम्मानित



सर्लाही । जिल्ला परीक्षा समिति, सर्लाहीले माध्यमिक शिक्षा परीक्षामा सबैभन्दा बढी आचारसंहिता पालन गर्ने गराउने ३ केन्द्राध्यक्षलाई सम्मान गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० सानोठिमी, भक्तपुरको सूचना अनुसार २०७९ वैशाख ९ गतेदेखि २०७९ वैशाख २० गतेसम्म सञ्चालन भएको २०७८ सालको कक्षा–१० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि र प्राविधिक) मा सबैभन्दा बढी आचारसंहिता पालन गर्ने गराउने उत्कृष्ट केन्द्राध्यक्ष र परीक्षा केन्द्रलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा जलधर कमलदेव नमूना माध्यमिक विधालय, ब्रह्मपुरी गापा–१, सर्लाहीका प्रअ केन्द्राध्यक्ष रामेश्वरप्रसाद यादव, श्रीमती कृष्णादेवी जनता माध्यमिक विधालय, मलंगवा नपा–९, सर्लाहीका प्रअ केन्द्राध्यक्ष विन्देश्वर यादव र जनज्योति नमूना माध्यमिक विद्यालय, लालबन्दी नपा, सर्लाहीका प्रअ केन्द्राध्यक्ष रामनिवास साह रहेको जिल्ला शिक्षा तथा समन्वय एकाइ निमित्त प्रमुख सुनिल कुशवाहाले बताए ।

छनोटमा परेका उत्कृष्ट केन्द्र र केन्द्राध्यक्षलाई एक कार्यक्रमकाबीच कदर पत्रसहित सम्मान गर्ने योजना रहेको बताए ।

जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको बसेको बैठकले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१०, सानोठिमी, भक्तपुरद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा(एसईई) , २०७८ लाई समिक्षा गर्दै उक्त निर्णय गरेको हो ।

परीक्षाको मर्यादा कायम गर्न नसकेकोले चक्र जनता सहिद गंगा माध्यमिक विद्यालय, बरहथवा नपा, सर्लाहीका केन्द्राध्यक्ष रामबहादुर राय यादव, मुक्तेश्वर गणेश रामसखी जनता माध्यमिक विधालय, बरहथवा नपा–९, मुर्तिया, सर्लाहीका निरीक्षक कुलदीप ठाकुर, पब्लिक माध्यमिक विधालय, मलंगवा नपा–२, सर्लाहीका निरीक्षक निर्माला झा, महावीर जनता नमुना माध्यमिक विधालय, हरिपुर नपा, सर्लाहीका निरीक्षक लोकेन्द्र चौधरी, जनता माध्यमिक विधालय, लालबन्दी नपा, नवलपुर, सर्लाहीका निरीक्षक अशोक महतो, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माध्यमिक विधालय, बलरा नपा, डुमरीया, सर्लाहीका निरीक्षकद्वय शंकर राय र राजेश प्रसाद सिंह, जनता माध्यमिक विधालय, धनकौल गापा, हरकठवा, सर्लाहीका निरीक्षक रेखा देवी, गिरधारी राय, विजय कुमार महतो र प्रविण कुमार यादवलाई निलम्बन गरिएको थियो ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्लाहीमा जिल्ला भरका १० हजार ४२१ जना विद्यार्थी सहभागी भए । जसमध्ये ५३३८ जना छात्रा र ५०८३ जना छात्र रहे । जसमा नियमित तर्फ १० हजार ३०१ र ग्रेडवृद्धितर्फ १२० जना रहेका थिए । जिल्लाका ९५ सामुदायिक र ४३ संस्थागत गरि जम्मा १३८ माध्यमिक विद्यालयका विधार्थीहरू परीक्षामा सहभागी भएको थियोे । जसमध्ये प्राविधिकधार तर्फका ३०९, खुला विद्यालयका ५५ र गृहणी विधालयका १८ जना विद्यार्थीहरू थियो ।

जिल्लामा ३६ वटा परीक्षा केन्द्र रहेको थियोे भने प्राविधिक धारको परीक्षा सदरमुकाममा रहेको श्रीमती कृष्णादेवी माविमा सञ्चालन भएको थियो ।

परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष गरि जम्मा ३६ जना केन्द्राध्यक्ष, विद्यार्थी संख्याको आधारमा ७३ जना सहायक केन्द्राध्यक्ष, ५२२ जना निरीक्षक, १०३ जना परीक्षा सहायक , २१० जना विधालय सहभागी र प्रतिकेन्द्र १५ जना सुरक्षाकर्मी खटाइएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १०:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।