अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बनाएका संरचना हटाउन सरकारले पहल नगरेको स्थानीय बासिन्दाको गुनासो
रौतहट । नेपाल–भारत सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएका बाँधमाथि धमाधम माटो थुपारेको छ । रौतहटको ईशनाथ नगरपालिका–१ स्थित बन्जाराहा गाउँदेखि दक्षिणको बाँधमा ट्र्याक्टरबाट माटो ओसारेर थुपार्न थालिएको हो । बाँधमै नयाँ झुपडी र शौचालयसमेत बनाइएको छ ।
दुई वर्षअघि यसरी नै माटो राख्न लाग्दा स्थानीय प्रशासनले रोकेको थियो तर भारतीय पक्षले बाँध मर्मतको बहाना बनाउँदै उचाइ थप्ने प्रयास गर्दै आएको छ । रौतहटस्थित पूर्वतर्फ सीमा क्षेत्रमा भारतले पहिलादेखि नै बोरामा माटो भरेर उचाइ थप्न थालेको हो । वाग्मती पश्चिमको बन्जाराहा, औरैयासम्म झन्डै २२ किलोमिटरसम्म २० फिटभन्दा अग्लो बाँध बनाइएको छ । ‘बन्जाराहा क्षेत्रमा सुरक्षाकर्मीको टोली पठाएको छु,’ प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भने, ‘अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै किसिमको संरचना बनाउन पाइँदैन । उनीहरूले माटो किन थुपारेको हो बुझ्छु ।’
भारतले बनाएको बाँधका कारण वर्षायाममा पानीले निकास नपाउँदा सीमावर्ती गाउँ बन्जाराहाका नेपालीको उठीबास हुने गरेको छ । बाँधकै कारण सदरमुकाम गौर पनि डुबानमा पर्छ । ‘दशगजाको नम्बरी जग्गामै हामीले एक टोकरी माटो खन्यौं वा कतैबाट हाल्यौं भने भारतीय सीमा सुरक्षा बलका जवान आएर दुर्व्यवहार गर्छन्,’ स्थानीय ओमकुमार साहले भने, ‘सीमामा यस्तो रबैयाबारे कसले बोलिदिने ?’
दशगजाको नेपालतर्फ कुनै संरचना भेट्टिँदैन । तर भारतस्थित बन्जाराहा क्षेत्रको बलुवा बाँधमा भारतीयले पक्की घर बनाएका छन् । व्यापारका लागि पसल थापेका छन् । बाँधमै मन्दिर, शौचालय बनाइएको छ । अन्तर्राष्ट्रिय सन्धि/सम्झौताअनुसार सीमा वरपर भौतिक संरचना निर्माण गर्दा दुवै देशले समन्वय गर्नुपर्छ । तर भारतले एकतर्फी ढंगबाट बाँध निर्माण गरेको हो । दशगजा क्षेत्रको एक सय मिटर दायाँबायाँ कुनै कार्य गर्न नपाइने व्यवस्था छ ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बनाएका बाँध र संरचनाका कारण वर्षाका बेला डुबान–कटानको समस्या भोग्दै आए पनि समाधानका लागि सरकारले पहल नगरेको बन्जाराका वडाध्यक्ष बिगु साहले बताए । ‘झन्डै २८ वर्षदेखि डुबान र कटानको समस्या झेल्दै आएका छौं,’ उनले भने, ‘सरकारले सीमामा बस्ने नेपालीका पीडा बुझ्नुपर्छ । भारतीयको थिचोमिचोबारे म बोल्दिनँ । सरकारले पहल थाल्नुपर्छ ।’
जिल्लाको वाग्मती र लालबकैया नदी खोलाको प्राकृतिक बहावलाई असर पुग्ने गरी भारतले बनाएको बाँधले वर्षाको समयमा सधैं समस्या निम्त्याउने गरेको छ । यसबारे सांसदहरूले पटकपटक सदनमा आवाज उठाउने गरे पनि समाधान भएको छैन । ‘सीमाको बाँध बनाउने बेला सरकारले रोक्न सकेन,’ कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले भने, ‘बल मिचेर बनाए पनि अब उचाइ थप्न दिनु हुँदैन । माटो राखेको छ भने हटाउन लगाउनुपर्छ ।’
ईशनाथ–१ बन्जाराहास्थित सीमा क्षेत्रमा भारतले दशगजा मिचेर लगाएको बाँध पनि अहिलेसम्म सारेको छैन । स्थानीय प्रशासनले सार्न दबाब दिँदै आए कोभिड लगायतको बहाना बनाई भारत पन्छिँदै आएको छ । सीमा मिचेको प्रमाणित भएको दुई वर्ष बितिसकेको छ । भारतले बन्जाराहामा झन्डै ७ मिटर दशगजा क्षेत्र मिचेर ड्याम बनाएको हो ।
भारतीय नापी विभागको सर्भे टोलीले स्थलगत अध्ययन गरी दशगजा क्षेत्र मिचेको स्वीकार्दै मौखिक रूपमा हटाउने आश्वासन दिएको थियो । तर अहिलेसम्म बाँध हटाउने सुरसार नगरेको प्रजिअ शाहीले बताए । केही दिनअघि उनी बाँधको स्थलगत अवलोकनका लागि पुगेका थिए । ‘मिचेको सीमा सार्न निरन्तर ताकेता गर्दै आएका छौं । अबको सीमा बैठकमा फेरि कुरा राख्छु,’ उनले भने, ‘भारतीय अधिकारीहरू हुन्छ मात्र भन्छन् तर काम गर्दैनन् ।’
यसअघि भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मुख्यालयमा भारतीय समकक्षीसँगको समन्वय बैठकमा सीमा मिचेर लगाएको बाँध हटाउने कुरा उठेको थियो । भारतको सिँचाइ विभाग, सर्भे विभाग मोतीहारी प्रशासनका प्रतिनिधि, सीमा सुरक्षा बलसहित रौतहटका प्रशासन प्रमुख, सुरक्षा अधिकारीको टोलीले डेढ वर्षअघि जीपीएस माध्यमबाट सर्भे गर्दा दशगजा मिचेको पाइएपछि नेपाली पक्षबाट रेखांकनका लागि पाइप गाडिएको थियो । पाइप गाडेको स्थानमा भारतले सीमा मिचेर एकपक्षीय रूपमा अग्लो ड्याम लगाएको छ । त्यही ड्याम सार्न आनाकानी गर्दै आएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।





















प्रतिक्रिया