Logo

शिक्षा

असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिन आफै विद्यालय खोल्दै व्यास नगरपालिका



तनहुँ । व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटार स्थित क्यामिन कोट प्राथमिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय सञ्चालन गर्न लागिएको हो ।

उक्त प्रकृतिका विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्यअनुरुप विद्यालय सञ्चालन गर्न लागेको व्यासका प्रविधि सूचना अधिकृत विशाल पण्डितले जानकारी दिए । विद्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि यसअघि नै विज्ञापन गरिसकेको नगरपालिका कार्यालयले जनाएको छ ।

विद्यालयमा खाना पकाउने भान्से, शिक्षिका र सुरक्षाकर्मीलगायतका जनशक्ति माग गरिएको नोडल अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिए । विद्यालय सञ्चालनको लागि विद्यार्थी भर्ना गर्न साउन २ गतेदेखि ८ गतेसम्म आवेदन फाराम वितरण गर्न सूचना जारी गरेको शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए । कक्षा ५ सम्म विद्यार्थी भर्नाको लागि आवेदन फाराम वितरण गरिएको व्यास शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १०:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।