Logo

प्रमुख समाचार

सिट बाँडफाँटबारे भागबण्डा मिलाउन गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै



काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि ‘ भागबण्डा मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । 

सोमबार बसेको बैठकमा सिट बाँडफाँटबारे ‘सहमति नजिक’ पुगेको भनिएको कार्यदलले  मंगलबार कुनै निष्कर्ष निकाल्ने नेताहरुको भनाइ छ । 

सोमबार बसेको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबारको बैठकबाट सिट बाँडफाँटबारे टुंगोमा पुग्ने बताएका थिए । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सिट बाँडफाँट र  त्यस पछिको अवस्थाका बारेमा छलफल भएको मन्त्री कार्कीको भनाइ थियो। बैठकमा सिट बाँडफाँटको आधारबारे छलफल भएको तथा निष्कर्ष नजिक पुगेको र मंगलबार बैठक बसेर टुंग्याइने कार्कीले बताएका थिए । 

सोमबारको बैठकमा २०७४ सालको चुनावमा जितेका सिटहरु सम्बन्धित दलले राखेर बाँकी सिटमा भागबण्डा गर्ने छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिएका थिए । बाँकी सिटमा नेपाली कांग्रेसले ६० प्रतिशतले लिने र अरु दलले ४० प्रतिशत पाउने विषयमा छलफल भएको थियो । 

कार्यदलमा कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।