Logo

राजनीति

विप्लव नेकपासहित ४ पार्टीको बन्द प्रभाव सामान्य : काठमाडौंमा छिट्फुट रुपमा सवारी चल्दै



काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ । 

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु आवतजावत भइरहेका छन् । यद्यपि सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो छ । मंगलबार बिहानैदेखि उपत्यकाका प्रमुख सडक र चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ । 

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो । 

विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् । अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०७:२५   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।