काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजनमार्फत छलफल हुने भएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई नौ समूहमा विभाजन गरेर छलफल गरिने जानकारी दिए ।
पहिलो दिनको बैठकमा छलफलका लागि सातवटा एजेन्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको छ । त्यसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आआफ्ना प्रतिवेदन पेश गरेका छन् । शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने नेता रिजालले जानकारी दिए ।
अध्यक्षको प्रतिवेदनले आगामी निर्वाचनसम्मको पार्टीको कार्यदिशा समेत तय गर्ने जनाइएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवेदनमाथि पनि शनिबारको बैठकमा छलफल हुनेछ । ओलीको प्रतिवेदनसहित विभिन्न निर्णय गर्दै बैठक शनिबार नै बैठक सक्ने एमालेको तयारी छ ।




















प्रतिक्रिया