काठमाडौं । नागरिकता विधयकका कारण अफ्ठ्यारोमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्दै छिन् । राष्ट्रपतिका सञ्चार विज्ञ टीका भट्टराईका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँग दिउँसो २ बजे भेटवार्ता तथा छलफलको समय तय भएको छ ।
अघिल्लोपटक फिर्ता पठाएको विधेयक संघीय संसद्बाट जस्ताको त्यस्तै फेरि प्रमाणीकरणका लागि आएपछि राष्ट्रपति भण्डारी गहन परामर्शमा जुटेकी हुन् । साउन २९ गते सघीय संसद्बाट पारित भएको विधेयकलाई राष्ट्रपतिले १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् ।
लगत्तै प्रतिनिधिसभाले उक्त विधेयकलाई पुरानै अवस्थामा पारित गरेको थियो । राष्ट्रियसभामा भने उक्त विधेयक केही समय रोकिएको थियो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधेयक पठाइएको थियो । समितिले २ दिन छलफल गर्दै जस्ताको त्यस्तै बहुमतले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।
राष्ट्रिय सभाले उक्त विधेयक भदौ १७ गते पारित ग¥यो । राष्ट्रियसभाबाट पारित भएपछि जानकारीका लागि प्रतिनिधिसभामा आएको थियो । संघीय संसद् सचिवालयले भदौ २० गते उक्त विधेयक दोस्रो पटक राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएको छ । त्यसयता उक्त विधेयकमाथि राष्ट्रपतिले परामर्श गरिरहेकी छन् ।
बुधबार साना कम्युनिस्ट पार्टीका नेताहरुसँग भेट गर्दै नागरिकता विधेयकबारे छलफल भएको थियो । वैज्ञानिक समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी लगायतले नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने भन्दै राष्ट्रपतिलाई भेटेको थिए ।
सत्ता पक्ष गठबन्धन नागरिकता विधेयकको विषयमा एकै ठाउँमा रहेका छन् । उनीहरूले चाँडै राष्ट्रपतिले यसलाई प्रमाणीकरण गर्नुपर्ने भन्दै आएका छन् । यस्तै पूर्वसुरक्षाकर्मीसँग पनि राष्ट्रपतिले छलफल गर्ने कार्यक्रम छ । दिउँसो ३ बजे पूर्वसुरक्षाकर्मीहरूसँग छलफल रहेको ढकालले बताए ।
दोस्रो पटक प्रमाणीकरणका लागि आएको विधेयक पुनः फिर्ता पठाउने संवैधानिक छुट राष्ट्रपतिलाई छैन । तसर्थ अब राष्ट्रपतिसमक्ष प्रमाणीकरण वा राजीनामध्ये दुई विकल्प छन् ।




















प्रतिक्रिया