Logo

प्रमुख समाचार

प्रतिनिधिसभा निर्वाचनमा शंकर पोखरेल र कृष्णबहादुर महरासँग भिड्दै इन्जिनियर अधिकारी



दाङ । इन्जिनियर विशाल अधिकारी दाङ २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने भएका छन् । दाङ– २ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा उनले विज्ञप्तीमार्फत गरेका हुन् ।

यो माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा यसअघि निर्वाचित भएको क्षेत्र हो । यसपटक फेरि पनि महरा नै पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार हुने नेताहरु बताउँछन् । एमाले महासचिव शंकर पोखरेल पनि यही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एकल सिफारिस भएका छन् ।

यी दुई हेभिवेट नेताहरु लड्दै गरेको क्षेत्रमा इन्जिनियर अधिकारीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । अधिकारी दाङ घोराहीका स्थानीय वासिन्दा हुन् ।

दाङ विकासको संभावनाले निकै अगाडि रहेको तर, नेतृत्वको अदुर्दर्शीताले पछाडि परेको भन्दै उनले विकास र समृद्धिलाई नै नारा बनाएका छन् । ‘मुलुकमा अब थप राजनीतिक अधिकार प्राप्तिको आन्दोलन आवश्यक छैन् । छ त केवल सुशासन, आर्थिक विकास र समुन्नत नेपाल निर्माणको अभियान’ अधिकारीले विज्ञप्तिमा लेखेका छन् ।

समुन्नत समाजका लागि नयाँ सोच र विकासको मोडलबारे जानकारी भएकाहरूले नेतृत्व गर्नुपर्छ भन्ने आम आवाज रहेको उल्लेख गर्दै उनले विज्ञप्तिमा लेखेका छन्, ‘दिगो र भरपर्दो विकासका लागि योगदान गर्ने दृढ इच्छाका साथ मैले लुम्बिनी प्रदेश दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको छु ।’

एसियाकै ठूलो उपत्यका भएर पनि दाङ विकास र समृद्धिका दृष्टिले पछाडि परेको र यसको कारण ठोस नीतिगत दबाब र दृढ इच्छाशक्तिको अभाव हो भन्ने अधिकारीको ठहर छ । यस सम्बन्धमा प्रष्ट दृष्टिकोणसहित चुनावी मैदानमा उत्रिएको उनको घोषणा छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १७:१८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।