Logo

प्रमुख समाचार

चोलेन्द्रको बयान लिन महाअभियोग समितिको बैठक बस्दै



काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज (शनिबार) बस्दै छ । महाअभियोग लगाइएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिन बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १२ः३० बजे सिंहदरबारमा बस्न लागेको हो । आज जबरासँग समितिले तेस्रो पटक बयान लिन लागेको हो । उनीसँग यसअघि समितिले भदौ १५, १६ र १९ गते पनि बयान लिएको थियो । जबरासँगको बयान आज सक्ने तयारी समितिको छ । उनलाई सोध्न समितिले ४३ प्रश्न तयार गरेको थियो ।

जबराविरुद्ध संविधान–कानूनको गम्भीर उल्लंघन र गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको, कार्यक्षमताको अभाव र खराब आचरण तथा इमानदारीपूर्वक जिम्मेवारी पूरा नगरेको र भाग खोजेको जस्ता आरोप लगाउँदै गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

सत्तारुढ दलका सांसदले विभिन्न २१ वटा आरोप लगाएर जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए । यसपछि २२ फागुनमा ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाइ २९ फागुनमा महाअभियाे प्रतिनिधिसभामा पेश गरिएको थियो । २२ साउनमा महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर महाअभियोग सिफारिस समितिमा पठाइएको थियो ।

समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार ११:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।