काठमाडौं । चिनियाँ जन कांग्रेसका अध्यक्ष ली चाङ्सु सोमबार नेपाल भ्रमणमा आउँदै छन् । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका उनी तीनदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। उनी दिउँसो सवा ३ बजे नेपाल आइपुग्नेछन् ।
सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लीको नेपाल भ्रमण तय भएको हो । लीको सबै राजनीतिक भेटघाटको कार्यक्रममा संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।
करिब एक सयजनाको टोलीसहित नेपाल आउन लागेका उनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। सेनासँगै सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि तैनाथ हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार सोमबारै ली र सभामुख सापकोटाबीच द्विपक्षीय वार्ता हुनेछ । त्यही दिन लीको सम्मानमा सापकोटाले रात्रिभोज दिनेछन् । चिनियाँ प्रभावशाली नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार शिष्टाचार भेटवार्ता गर्नेछन् । मंगलबार उनले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछन् ।
त्यस्तै सोही दिन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको छ । लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नेछन् ।
चिनियाँ नेता रुस, मङगोलियापछि नेपाल आउन लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । नेपाल भ्रमण सकेर ली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नेछन् ।




















प्रतिक्रिया