काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग ४३ प्रश्न सोधेर सकाएको छ । मंगलबार जबरासँग सबै प्रश्न सोधेर सकिएपछि समितिले संसदको यो कार्यकालभित्रै निलम्बित प्रधानन्यायाधीश जबराबारे निर्णयमा पुग्ने समितिको तयारी छ ।
संसदको कार्यकाल सकिन लागेको अवस्थामा जबरामाथिको महाभियोग के हुन्छ भन्ने आमचासो उत्पन्न भएको बेला समितिका नवनियुक्त प्रवक्ता लक्ष्मीप्रसाद गौतमले भने, ‘संसदको कार्यकाललाई विचार गरेर नै निष्कर्षमा पुर्याउने भनेर भोलिसमेत बैठक बोलाइएको हो ।’
सोही अनुसार जबरासँग जोडिएका विषयलाई अन्तिम रुप दिन भोलि (बुधबार) समेत बैठक बोलाइएको उनले बताए । पुरक प्रश्नका विषयमा अहिलेसम्म भएका बयानमा उल्लेख गरेका कुरा रेकर्ड हुँदैछन् । त्यो समेत अध्ययन गरेर पुन पुरक प्रश्नका लागि समय दिएर बोलाउने तयारी भइरहेको गौतमले बताए ।
अब बुधबार बिहान नौ बजे अर्को बैठक राखिएको भन्दै गौतमले भने, ‘त्यसमा बुझ्नुपर्ने प्रमाण, उल्लेख गरेका व्यक्तिका बारेमा छलफल गरेर आवश्यक परेको खण्डमा समितिमा बोलाएर बुझ्नुपर्ने भए बुझ्ने भन्ने कुरा भएको छ ।’ त्यस्तै उनले प्रतिवेदन लेखनको काम भइरहेको भन्दै प्रतिवेदन कसरी लेख्ने भन्ने कुरा पनि समितिको निर्णयअनुसार नै हुने बताए ।




















प्रतिक्रिया