काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चार पूर्व प्रधानन्यायाधीश खनिएका छन् । बयानका क्रममा जबराले नाम विभिन्न अपुष्ट आरोप लगाएको भन्दै त्यसलाई पुष्टि गर्न चुनौतसमेत दिएका छन् । बिहीबार चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गरी आरोप लगाएर मात्र नहुने भन्दै त्यसको पुष्टि गर्न चुनौती दिएका हुन् ।
“आरोप लगाउँदैमा पुग्दैन । आरोप लगाउनेले बुझ्न सक्ने गरी अमुक व्यक्तिले अमुक विषयमा अमुक समयमा अमुक कुरा अनुचित ढंगले हासिल गर्न खोजेको वा हासिल गरेको भन्ने कुरा शंकारहित तवरले सिद्ध गर्नुपर्ने हुन्छ,” विज्ञप्तिमा भनिएको छ, “महआभियोग लागेका व्यक्तिले जे भने पनि हुने, त्यसको सिद्ध गर्न भने नपर्ने भन्ने हुँदैन । तसर्थ, हामीहरूले संयुक्त, व्यक्तिगत रूपमा कुनै गैरकानुनी लाभ लिने उद्देश्यले कुनै अमुक विषयमा कहिल्यै कुनै दिन कुनै प्रत्यक्ष भेट वा अन्य माध्यमबाट समेत निजलाई प्रभावित गरेको वा गर्ने उद्देश्य राखेको कुनै पनि तथ्य भए प्रमाणित गर्न खुलेआम चुनौती दिन चाहन्छौँ ।”
उनीहरूले आफूहरूमाथिको आरोप अस्वीकार गर्ने पनि बताएका छन् । “महाअभियोग लागेको व्यक्तिको हामीसँग सम्बन्धित भनाइलाई सम्पूर्ण रूपमा अस्वीकार गर्दछौँ,” उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, “उपरोक्तबमोजिम प्रमाणित गर्न नसकेमा त्यसको परिणाम भोग्न लगाउन समितिले सामर्थ्य देखाओस् भनी अनुरोध गर्न चाहन्छौँ ।” सर्वोच्च अदालतमा आन्दोलन चलिरहेका बेला ०७८ कात्तिक ८ मा उनीहरूले जारी गरेको विज्ञप्तिमै चोलेन्द्रले पूर्वाग्रह राखेको आरोप लगाएका थिए ।




















प्रतिक्रिया