काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानको १७४ पृष्ठमध्ये ४५ पेजमा हस्ताक्षर गराएको छ । उनले आफूले दिएको बयानमा हस्ताक्षर गरेर प्रमाणित गर्नुपर्ने भएकाले समितिले उनलाई बिहानैदेखि बोलाएर हस्ताक्षर गराउने काम गरिरहेको छ ।
तर, उनले बयान पढेर सुनाउन आग्रह गर्दै कतिपय भनाइ सच्याउँदै हस्ताक्षर गरिरहेका छन् । त्यसैले उनको बयान प्रमाणित गर्नलाई नै समय लागिरहेको छ । समितिका एक सदस्यका अनुसार यो समाचार तयार पार्दा (दिउँसो ३ः१५ बजे)सम्म ४५ पेजमा हस्ताक्षर भएको छ । समितिले चोलेन्द्रकै भनाइ अक्षरमा उतारे पनि उनले भनाइको आसय त्यसो नभएको भन्दै सच्याएर मात्र हस्ताक्षर गरेका छन् ।
जबराले बयान प्रमाणित गरे आजै वा भोलि बिहान सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समितिको तयारी छ । यो संसदको अन्तिम बैठक शनिबार नै बस्ने तय भएकाले प्रतिवेदन संसद्मा प्रस्तुत हुने वा नहुने विषय भने टुंगो लागिसकेको छैन ।
जबरा बयानका क्रममा नाम लिएका कानुन व्यवसायीहरुसँग बिहीबार छलफल गरेको समितिले आज पुनः जबरालाई पुरक प्रश्न सोध्ने तयारी पनि गरेको थियो । तर समितिभित्रै सदस्यहरुबीच मतैक्य नभएपछि यसबाट समिति पछि हटिसकेको छ ।




















प्रतिक्रिया