Logo

राजनीति

निर्वाचन खर्च नबुझाउने उम्मेदवारमाथि कारबाही, जनही साढे सात लाखसम्मको जरिवाना



काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरेको छ । आयोगका अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्ने दायित्व भएका उम्मेदवारहरूमध्ये सो बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १४ हजार ९५८ जना उम्मेदवारलाई र तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६६६ जनासमेत गरी जम्मा एक लाख २३ हजार ६२४ जना उम्मेदवारहरूलाई कारबाही गरिएको हो ।

तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोबारे आफ्नो सफाई सहितको स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा पेस गर्न आयोगले भनेको दिइएको थियो । तोकिएको समयमा निर्वाचन खर्चको विवरण पेस नगर्ने १५ हजार ७४३ जना र कानुनले तोकेको समय व्यतित भएपछि निर्वाचन खर्चको विवरण बुझाउने एक हजार १५१ जना गरी जम्मा १६ हजार ८९४ जना उम्मेदवारले आफ्नो सफाई सहितको स्पष्टीकरण पेस गरेको आयोगले जनाएको छ ।

अनुसार निर्वाचन खर्चको विवरण तोकेको समयमा पेस नगरी आफ्नो सफाई सहितको स्पष्टीकरण पेस नगर्ने ९९ हजार २१५ जना र कानुनले तोकेको समय व्यतित भएपछि निर्वाचन खर्चको विवरण पेस गरेकोमा सो सम्बन्धमा आफ्नो सफाई सहितको स्पष्टीकरण पेस नगर्ने ७ हजार ५१५ जना समेत गरी जम्मा एक लाख ६ हजार ७३० जना सहित संलग्न सूची बमोजिमका एक लाख २३ हजार ६२४ जना उम्मेदवार कारवाहीमा परेका हुन् ।

यसरी निर्वाचन खर्च समयमा नबुझाएका महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही सात लाख ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने, महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही तीन लाख रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार २१:११   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।