काठमाडौं । प्रतिनिधिसभाकाे उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएकाे हाे ।
प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।
इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका हुन् ।
नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । प्रतिनिधिसभामा पहिले इन्दिरा राना मगरलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि निर्णयार्थ प्रस्तुत भएन ।
पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता
नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएकी हुन् ।
विपक्ष दलका सांसदहरुले समेत उठाएका इस्यूहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने उनले बताएकी छन् । उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसदको कामलाई अझ बढि प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताइन् ।
नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ थियो । उपसभामुख रानामगरले भनिन्, ‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारिताका साथ निभाउने छु ।’




















प्रतिक्रिया