Logo

प्रमुख समाचार

विदेश अध्ययनमा जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक ल्याइएको हो : मन्त्री खनाल




काठमाडौं । राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरुले राखेको जिज्ञासामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताए ।

“एक लाख २२ हजार नेपाली विद्यार्थी विश्वका एक सय ६ भन्दा बढी मुलुकमा नेपाली विद्यार्थी अध्ययनका लागि गएको तथ्याङ्क छ, ती युवालाई रोक्न सकिन्छ कि भन्ने हेतुले यो विश्वविद्यालय विधेयक अघि बढाइएको हो”मन्त्री खनालले भने । मुलुकको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन तथा विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने होस् भन्ने उद्देश्य रहेको बताउँदै उनले गुणस्तरीय शिक्षा मात्र नभई सङ्घीयताको मर्म र भावनालाई विश्वविद्यालयले बोकेको स्पष्ट गरे ।

सदस्यहरुले नेपाललाई उपयुक्त हावापानी भएका कारण नेपाललाई शैक्षिक अध्ययनको हब बनाउन प्रयत्न गर्न आवश्यक रहेको बताउँदै यसअघिका विश्वविद्यालयलाई पनि भरपर्दो, अनुशासित, गुणात्मक र विश्वसनीय बनाउन आवश्यक सुझाव दिए ।

वियेकमाथिको छलफलमा भाग लिँदै सदस्य जितेन्द्रनारायण देवले राज्यको स्रोतको बोझ नलिने उद्देश्य बोकेको यस विश्वविद्यालयले गुणात्मक शिक्षामार्फत् विश्वबजारमा प्रतिस्पर्धा गर्ने सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको बताए । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले स्वीकृत गर्‍यो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १३ गते शुक्रबार दिनको ४ बजे बस्नेछ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १६:५१   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।