काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका पूर्वमन्त्री बद्री न्यौपानेले आफू सुकुम्वासीसरह व्यक्ति भएको बताएका छन् । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले उनलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने फैसला सुनाएको थियो ।
तर पूर्वमन्त्री बद्री न्यौपानेले यी सबै कदम आफ्नो राजनीति सिध्याउने प्रयासस्वरुप नियोजित रुपमा चालिएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र त्यस्तै फैसला भएको बताए ।
समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मासमेत प्रस्ताव लगेको न्यौपानेले बताए । ‘मन्त्रिपरिषद्ले परिषद् आफैंमा स्वसासित संस्था हो, यसअघि जे गरेको छ, त्यही अनुसार गर्नु’ भनेर आएपछि आफूले बोर्ड बैठक राखेर निर्णय गरेको उनले सुनाए ।
भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको, तर आफूलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने निर्णय गर्नु पूर्वाही भएको उनले बताए ।
विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको उनले बताए । पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३०० रुपैयाँ धरौटी राख्नुपर्ने भन्दै उनले भने, ‘मसँगै जग्गा छैन, बैंक ब्यालेन्स छैन र भाइको घरमा शरणार्थी बसेको छु । म न धरौटी राख्न सक्छु, न सर्वोच्च अदालतमा जाने हैसियतमा छु ।’




















प्रतिक्रिया