Logo

प्रमुख समाचार

चैत १० देखि संघीयताविरुद्ध देशव्यापी अभियान चलाउँदै सत्तारुढ दल जनमोर्चा



रुपन्देही । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताकोविरुद्ध आन्दोलन घोषणा गरेको छ । बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । सो पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।’

बैठकले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । सो उपनिर्वाचनमा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ ।

उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत गठन गरिएको छ । परिषद् बैठकले वैशाख र ज्येष्ठ महिनामा देशव्यापी रूपमा पार्टीको जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १६:४३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।