काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड”ले सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)को स्थापना दिवसका अवसरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औँ साधारणसभालाई सम्बोधन गर्दै उनले जनताको सूचनाको हकको कार्यान्वयनका लागि सरकारको मुख्य साझेदारका रुपमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
सूचनामा नागरिकको पहुँच बढाउन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, मानव अधिकार, विधिको शासन, सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनका लागि गरिएका विभिन्न आन्दोलन, न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका आन्दोलनमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
विश्वमा रेडियोको इतिहास एक सय २८ वर्ष पुरानो भएको स्मरण गर्दै उनले नेपालमा २००७ सालमा पहिलोपटक प्रजातन्त्र रेडियो नेपालको स्थापना भएसँगै विद्युतीय सञ्चारमाध्यमको प्रारम्भ हुन पुगेको र रेडियोको स्थापनासँगै शिशु अवस्थामा रहेको प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुगेको स्मरण गरे ।
देशभरि छ सयभन्दा बढी रेडियो सञ्चालन भई हजारौँ सञ्चारकर्मी रेडियोमा कार्यरत रहेको र लाखौँ स्रोताको सूचना एवम् समाचारको प्राथमिक माध्यम रेडियोहरू हुनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रको महत्वपूर्ण पुँजीका रूपमा काम गरिरहेका सञ्चारमाध्यमको दीगो विकास एवं व्यवस्थापनको जिम्मेवारी साझा जिम्मेवारी हुन आइपुगेको छ, वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमका सबलीकरणमा सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दछु ।’
भूकम्प, कोभिड–१९ महामारीलगायत राष्ट्रिय विपद् र चुनौतीको कठिन समयमा त्यस्ता चुनौतीविरूद्ध सङ्घर्ष गर्न, नागरिक सचेतना एवम् अभिमुखीकरणका निम्ति रेडियोहरूले चलाएका कार्यक्रमहरू निकै प्रभावकारी देखिएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले ‘लकडाउन’को समयमा रेडियो शिक्षा कार्यक्रममार्फत पठनपाठन नियमित गर्न र शैक्षिक सत्र नै अप्ठ्यारोमा पर्ने परिस्थितिबाट जोगाउन रेडियोले खेलेको भूमिका कहिल्यै बिर्सन नसकिने बताए । नेपालका सामुदायिक रेडियोले डिजिटल स्कुलको जिम्मेवारीसमेत पूरा गर्नु देशकै लागि प्रेरणाको विषय भएको उनको भनाइ थियो ।
उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र सम्वद्र्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।





















प्रतिक्रिया